महेन्द्रनगर । अछामी जनताको मनमा लागिरहेको थियो— कतै बयालपाटा अस्पताल बन्द त हुदैन ? साँफेबगर नगरपालिका–७, अछाममा रहेको बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक अभाव लगायत विविध चुनौतीको सामना गर्दै आइरहेको थियो ।
पोसिबल हेल्थ युएसएको साझेदारीमा न्याय हेल्थ नेपालले सञ्चालन गर्दै आएको यो अस्पताल बन्द हुने आशंका स्थानीय बासिन्दाहरूमा गहिरिँदै गइरहेको थियो । बयालपाटा अस्पताल अछाम मात्र होइन, बाजुरा, बझाङ, डोटी तथा कैलालीका केही क्षेत्रका जनताका लागि पनि जीवनदायिनी स्वास्थ्य सेवा केन्द्रको रूपमा परिचित छ । यति महत्वपूर्ण सेवा केन्द्रको अस्तित्वकै संकट आउन थालेपछि यो विषय अछामको प्रमुख राजनीतिक मुद्दा बन्न पुग्यो ।
अनेक राजनीतिक दल र नेताहरूले अस्पताललाई आफ्नो चुनावी एजेन्डामा राखे तर समस्याको दीर्घकालीन समाधानतर्फ कसैले गम्भीर चासो देखाएनन् । तर सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले भने यसलाई केवल चुनावी नारामा सीमित राखेनन् । चुनावका बेला गरेका प्रतिबद्धताअनुसार उनले बयालपाटा अस्पतालको भविष्य सुनिश्चित गर्न आवश्यक प्रक्रिया अगाडि बढाए ।
मन्त्री खड्काको निरन्तर पहल र दृढ संकल्पकै परिणामस्वरूप अब यो अस्पतालको पूर्ण स्वामित्व सुदूरपश्चिम प्रदेश सरकारले ग्रहण गरेको छ । २०८२ भदौ १ गतेदेखि बयालपाटा अस्पताल पूर्ण रूपमा प्रदेश सरकारको मातहत सञ्चालनमा आउने गरी सम्झौता सम्पन्न भएको हो । स्थापनादेखी निःशुल्क, गुणस्तरीय र अत्यावश्यक स्वास्थ्य सेवा दिँदै आएको बयालपाटा अस्पताल अब प्रदेश सरकारको संस्थागत संरचनाभित्र प्रवेश गर्नेछ । यसले अस्पतालको भविष्यलाई नयाँ मोड दिने विश्वास गरिएको छ ।
‘हामी प्रदेश सभामा आवश्यक गठन आदेश पेस गरेर पारित गर्नेछौँ । त्यसपछि भदौ १ गतेदेखि अस्पतालको सम्पूर्ण सेवा सञ्चालन अधिकार प्रदेश सरकारले ग्रहण गर्नेछ ।’ मन्त्री खड्का भने ‘यो केवल प्रशासनिक हस्तान्तरण होइन, प्रदेशको स्वास्थ्य प्रणाली मजबुत बनाउने दिशामा ऐतिहासिक कदम हो। अब सुदूरपश्चिमका नागरिकहरूको स्वास्थ्यप्रति राज्य स्वयं जिम्मेवार बन्ने समय आएको छ ।’
१७ बुँदे सम्झौता अनुसार, बयालपाटा अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालको रूपमा संचालन गरिने बताइएको छ । गठन आदेश र अन्य नीतिगत प्रक्रिया छिट्टै अघि भन्दैँ मन्त्री खड्ले अस्पतालको सेवा निरन्तरता र गुणस्तरमा कुनै कमी आउन नदिने बताए । प्रदेश सरकारको मातहतमा आएपछि बयालपाटा अस्पतालले लामो समयदेखि भोग्दै आएका समस्या समाधान हुने आशा गरिएको छ ।


