सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने दुई पाइलटसहित तीन जना घाइते भएका छन्।

मङ्गलबार बिहान करिब ८ः११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकोप्टर अवतरण गर्ने क्रममा एक–आपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा परी फिस्टेल एयरमा सवार भारतको तमिलनाडु, चेन्नई घर भएका अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव प्रभु एयरको हेलिकोप्टरमार्फत लुक्ला ल्याइएको छ।
दुर्घटनामा न्युजिल्यान्डका नागरिक अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल, फिस्टेल एयरका पाइलट रवीन्द्र प्रजापति र डाइनेस्टी एयरका पाइलट प्रजल केसी घाइते भएका छन्। घाइतेमध्ये पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल पठाइएको छ। डाइनेस्टीका पाइलट केसीको लुक्लास्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको जनाइएको छ।







