कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा आयोजित रामलीलामा ‘राम’को भूमिका निर्वाह गरिरहेका कलाकारमाथि लगाइएको आरोप समग्र धर्म र संस्कृतिमाथिको प्रहार भएको रामलीला समिति कञ्चनपुरले ठहर गरेको छ।

दोधाराचाँदनीस्थित बाबाथानमा आदर्श रामलीला समितिले आयोजना गरेको रामलीला महोत्सवमा ‘राम’को पात्र अभिनय गरिरहेका व्यक्तिलाई मोटरसाइकल चोरीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति समितिले आपत्ति जनाएको हो।
रामलीला समिति कञ्चनपुरका अध्यक्ष शमरजङ्ग बहादुर चन्दले आरोप पुष्टि नहुँदै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत दुष्प्रचार गरिनु दुःखद भएको बताएका छन्। सामान्य सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको विषयलाई उचालेर समग्र रामलीलालाई नै बदनाम गर्ने कुचेष्टा भइरहेको भन्दै उनले यस्ता गतिविधि रोकिनुपर्ने माग गरे। विगत १२ वर्षदेखि कञ्चनपुरमा रामलीला सञ्चालन हुँदै आएको स्मरण गराउँदै उनले विशुद्ध धार्मिक तथा सांस्कृतिक संरक्षणको काममा बाधा नपुर्याउन आग्रह गरे।
समितिका महासचिव नरेन्द्रप्रसाद जोशीले दोधाराचाँदनी, महेन्द्रनगर, बेदकोट, बेलौरी र पुनर्वासलगायतका क्षेत्रमा भइरहेका रामलीलाका सामान्य कमजोरीलाई अतिरञ्जित नगर्न आग्रह गरे। रात्रि मेलामा देखिने सामान्य विवाद आपसी समझदारीबाट समाधान गर्नुपर्नेमा जोड दिँदै समितिले धर्म–संस्कृतिको संरक्षणमा सबैको सद्भाव आवश्यक रहेको औँल्याएको छ।







