बेदकोट नगरपालिकाको छाडा चौपाया व्यवस्थापनमा नगर प्रमुख र उपप्रमुखकै मत बाझिएपछि समस्या झनै बढ्यो

महेन्द्रनगर। बेदकोट नगरपालिकामा छाडा चौपाया व्यवस्थापनको आन्दोलन चर्किएको छ। चौपाया व्यवस्थापनमा नगर प्रमुख र उपप्रमुखकै मत बाझिएपछि समस्या झनै बढेको हो।

हिजो राति नगरपालिकाले छाडा चौपायालाई ट्रकमा राखेर जंगल क्षेत्रमा छाडेको छ। ती मध्ये केही गाईगोरु मरेको भन्दै आज बिहानैबाट स्थानीय र गौरक्षाका लागि कृयाशिल व्यक्तिहरु विरोधमा उत्रिएका छन्।

विश्व हिन्दु गौ रक्षा जागरण अभियानका अध्यक्ष चक्रदेव जोशीले बेदकोट ताल तलको चोरपानी लगायत क्षेत्रमा गाईगोरु मरेको अवस्थामा भेटिएको जानकारी दिए।
केही दिन देखि छाडा चौपाया व्यवस्थापनको मुद्दा चर्किएको हो। छाडा चौपायालाई नगरपालिका परिसरमा हुलेर स्थानीयले आइतवारदेखि विरोध प्रदर्शन सुरु गरेका हुन्।

वडा नं। १० हरपालका महिलाहरुले विरोधको सुरुवात गरेका थिए। यसअघि शनिबार उनीहरुले छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय चुनेपानी सामुदायिक वनमा लौजान खोजेका थिए।

बेदकोट नगरपालिका–८ गाउँजीमा पुग्दा उपप्रमुख तुलसी जोशीको नेतृत्वमा गाईगोरु लैजाने महिलाहरुमाथि हातपात तथा ढुंगा प्रहार भएपछि उनीहरुले विरोध स्वरुप नगरपालिका परिसरमा छाडा चौपाया ल्याएको बताए।

मंसिर १० गते नगर प्रमुख भोजराज बोहरा र वडा नं। १० का स्थानीयबीच छाडा चौपाया व्यवस्थापनका बारेमा सहमति भएको थियो। जस अनुसार स्थानीयले नै नगरपालिकाको सहयोगमा छाडा चौपायालाई चुरे फेदीमा रहेको चुनेपानी धार्मिक वनमा पु(याउने सहमति भएको थियो।

सोही अनुसार महिलाहरु एक सय वटा गाईगोरु लगेर बेदकोट नगरपालिका–८ को गाउँजी पुगेका थिए। त्यहाँ पुग्दा नगरपालिकाकी उप प्रमुख तुलसी जोशीको नेतृत्वमा स्थानीयले हातपात गरेपछि महिलाहरु फर्केका थिए।

‘मास्क लगाएर उपप्रमुखकै नेतृत्वमा हामीमाथि हातपात भयो,’ बेदकोट नगरपालिका–१० हरपालकी गिता भट्टले भनिन्, ‘प्रमुखले लैजानुस् भने, उपप्रमुखले रोके, हामीमाथि दुव्र्यवहार पनि भयो।’

उनका अनुसार नगर प्रमुख र उपप्रमुखले यसअघि भदौमा पनि दुई महिनाभित्र छाडा चौपाया व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए।

नगरपालिकाले बेदकोट नगरपालिका–४ को पालज्योति माविको १२ विघा जमिन भाडामा लिएर छाडा चौपाया व्यवस्थापनको योजना बनाएको नगर प्रमुख बोहराले बताए।

उनका अनुसार छाडा चौपाया व्यवस्थापनको जिम्मा वैजनाथ महिला कृषि सहकारी संस्थालाई दिइएको छ। सहकारीले छाडा चौपाया व्यवस्थापनका लागि डेढ सय ट्राली पराल समेत जम्मा पारेको छ।

नगर प्रमुख बोहराले दुई महिनाभित्र छाडा चौपाया व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पहिलो चरणमा १२ विघा जमिनलाई घेरबार गरेर गाई गोरु त्यसभित्र राख्ने तथा विस्तारै गौशालाहरु निर्माण गरिने बताए।

हिजो नगरपालिकाले ४÷५ वटा ट्रकमा हालेर गाईगोरु चुनेपानी लगेका थिए। त्यहाँका स्थानीयले विरोध गरेपछि ती गाईगोरु बेदकोट ताल क्षेत्रको जंगलमा छाडेको स्थानीयले बताए।

‘त्यहाँ गाईगोरुहरुलाई अमानवीय ढंगले फालिएको पाइएको छ,’ नेकपा बहुमत कञ्चनपुरका कार्यालय सचिव दीपेन्द्र ऐरीले भने, ‘ती मध्ये केही मरेका छन्। कतिपयलाई चोटपटक लागेको छ। हामी यसै क्षेत्रमा छौँ।

अव्यवस्थित ढंगले लिप्ना सडक खण्डमा छोडेका गाईगोरुको तत्काल व्यवस्थापन गरिनुपर्ने माग बिज्ञप्तिमा गरिएको छ।

‘घटनाको सत्यतथ्य छानबिन गरी उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरु माथि कडा भन्दा कडा कार्वाही गर्न हुन प्रशासन समक्ष माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्राप्त प्रतिक्रिया

ताजा समाचार