उत्कृष्ट काम गरेर जनताको विश्वास जित्ने,सांसद डिल्लीराज पन्त

महेन्द्रनगर । कैलाली निर्वाचन ५ नवनिर्वाचित सांसद डिल्लीराज पन्तले उत्कृष्ट काम गरेर जनताको विश्वास जित्ने बताएका छन् ।

सत्तारुढ पाँच दलीय गठबन्धन निर्वाचन परिचालन समितिले मङ्गलबार धनगढीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले  जनताको माग साधारण रहेको उल्लेख गर्दै खानेपानी, सडकलगायतका योजना सफल बनाउनु पर्ने जनाएका हुन् ।

कृषि, स्वास्थ्य, शिक्षा, रोजगार क्षेत्रमा रहेको समस्या समाधान गरेर मतदाताको विश्वास कायम राख्ने उनको भनाइ थियो। ‘यसका लागि हामी जनप्रतिनिधिले इमानदारिता देखाउनु पर्दछ’, सांसद पन्तले भने। एक छुट्टै प्रसङ्गमा उनले अब गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने उल्लेख गरे ।

यस्तै, प्रदेश सभा सदस्य रमेश धामीले जितेर खुसीसँगै विकास निर्माणमा आफूहरू चिन्तित भएको बताए। उनले जनप्रतिनिधिले सबै पार्टीको शिर ठाडो पार्ने काम गर्नु पर्नेमा जोड दिए ।

अर्का प्रदेश सभा सदस्य प्रकाश देउवाले जनताको विश्वास जितेर काम गर्ने बताए। उनले सुदूरपश्चिम प्रदेशलाई विकसित प्रदेशको रूपमा अगाडि बढाउने उल्लेख गरे । जनताको विश्वास जित्न सजिलो नरहेको भन्दै उनले अगाडि थप्नुभयो,‘नैतिकता र आचरणलाई सुधार गरेर काम गर्नु पर्दछ।’

सुदूरपश्चिम प्रदेशमा पाँच दलीय गठबन्धन सरकार बन्ने उल्लेख गर्नुहुँदै देउवाले पार्टी र कार्यकर्तालाई सँगसँगै लैजाने र जनताले देखाएको बाटोमा आफू हिँड्ने प्रतिबद्धता जनाए । यसैगरी, कार्यक्रममा बोल्नहुँदैन प्रदेश सभा सदस्यद्वय प्रकाश बम र अक्कलबहादुर रावलले संविधान र व्यवस्थाको रक्षाका लागि आफूहरूले काम गर्ने बताए। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड, सुशिला मिश्र भट्टले शुभकामना सहित जनतको हितमा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधिलाई बधाई दिइनुका साथै पाँच वर्षे कार्यकाल सफलताको शुभकामना दिइएको छ। नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धन दलका नेताको उपस्थिति रहेको थियो।

ताजा समाचार