तीन हजार हेक्टर भूमि गौरीगंगाले गर्‍यो कब्जा

महेन्द्रनगर। चुरे गाउँपालिकाको तीन हजार हेक्टर भू–भाग गौरीगंगाले कब्जा गरेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताएका छन्।

गौरीगंगा नगरपालिकाले चुरेको भू–भाग नै कब्जा गरेर नदीजन्य पदार्थको उत्खनन गर्दै आएको आरोप अध्यक्ष बोगटीको छ। सीमानाभन्दा ४/५ किलोमिटर भित्र पसेर नदीजन्य पदार्थ उत्खनन हुँदै आएपनि रोकटोक कहिँकतैबाट नभएपछि सर्वोच्च अदालतमा आफ्नो भू–भाग कब्जा विरुद्ध रिट दायर गर्ने तयारी भइरहेको उनले बताए।

सीमाना विवादको विषयमा मुख्यमन्त्री, वन कार्यायल, जिल्ला समन्वय समिति, स्थानीय प्रशासन लगायत सबैलाई पटक पटक जानकारी गराउँदा पनि कतैबाट सुनुवाई नभएपछि सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष बोगटीले जानकारी गराए।

‘हाम्रो भूमि गौरीगंगाले कब्जा गरेको छ। भूमि फिर्ता ल्याउन सबैतिर हारगुहार गरेपनि कहिँकतैबाट सुनुवाई नभएपछि एक दुईदिनभित्र सर्वोच्चमा रिट दायर गर्दैछौँ।’ उनले भने।

भुलोल, जनसंख्या र दशौ वर्षदेखि उपभोग गर्दै आएको भूमि गौरीगंगाकै भएकाले हामीले उपयोग गर्दै आएको नगरप्रमुख देवीदत्त कडेलले बताए। ‘वर्षौदेखि गौरीगंगाले ती क्षेत्रमा विकास निर्माणका काम गरेको छ।

वर्षौदेखिको स्थायी बसोबास भएको क्षेत्रलाई चुरे गाउँपालिकाले आफ्नो भू–भाग भनेर हुँदैन। प्रदेश सरकार र नापीबाट नापनक्सा गराएर सीमा समस्यालाई हल गर्न सकिन्छ।’ उनले भने।

ताजा समाचार