बजारको घर बेचेर गाउँमा कालिज पालिरहेका पूर्ववडाध्यक्ष

महेन्द्रनगर । दाङको बंगलाचुली गाउँपालिकास्थित मुर्कुटीका पूर्व वडाध्यक्ष एनुराज खत्री कालिज पालेर बसेका छन्। २०७४ सालमा एनुराज नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष निर्वाचित भएका थिए। पाँच वर्ष जनप्रतिनिधि भएर काम गरेपछि उनले गाउँमै बस्ने र कुनै उद्यम गर्ने सोच बनाए। घोराही बजारमा उनको घर थियो। त्यो घर करिब एक करोड रूपैयाँमा बेचे। मुर्कुटीमा दुई तले पक्की घर बनाए जसलाई गाउँलेहरू ‘महल’ भन्छन्।

उनी बजार क्षेत्रको घर बेचेर किन सरे त टाढाको गाउँमा? आफू जन्मे हुर्केको ठाउँ छोड्न पटक्कै मन लागेन,’ उनले भने, ‘मलाई धेरैले घोराहीको घर बेचेर दुर्गम पहाडमा पक्की घर बनाउने मूर्ख पनि ठान्छन् तर म यसैमा खुसी छु।’

वडाध्यक्ष हुनुअघि एनुराजले करिब ३० वर्ष शिक्षण पेसामा बिताएका हुन्। उनका धेरै साथीले वडाध्यक्षमा फेरि दोहोरिन सुझाएका थिए। उनी मानेनन्। अरूलाई मौका दिनुपर्छ भन्ने लागेर आफू फेरि वडाध्यक्षमा नउठेको उनले बताए। उनले वडाध्यक्षको कार्यकाल सकिनुभन्दा करिब एक वर्षअघि नै ‘लेकाली व्यावसायिक पशुपन्छी फार्म’ दर्ता गराएर कालिज पाल्न सुरू गरेका हुन्।

‘समय यसै खेर फाल्नु हुँदैन, सक्रिय जीवन बिताउनु पर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने, ‘हामी जस्ता (सेवा निवृत्ति) मान्छेले गाउँघरमै केही उद्यम गर्न सके युवाहरूका लागि सिकाइ बन्न सक्छ।’

उनले तुलसीपुरस्थित एक कालिज फार्मबाट एक हजार रूपैयाँका दरले नौ सय वटा चल्ला किनेर व्यावसायिक पालन सुरू गरेका हुन्। कालिज पालनको अनुभव नहुँदा उनले सबै चल्ला बचाउन सकेनन्, पाँच सय जति बचे। हुर्केपछि धेरै जसो भाले बेचे। पोथी जति सबै र थोरै भाले चल्ला उत्पादनका लागि राखे।

यस वर्ष मात्र उनले करिब पन्ध्र सय चल्ला उत्पादन गरे। कालिजको संख्या करिब पच्चीस सय पुगेको थियो। आधाभन्दा बढी बेचिसके। अब हजार हाराहारी बिक्रीका लागि तयार छन्। गत वर्ष गतिलो भाले साढे तीन हजार रूपैयाँसम्ममा बेचेका थिए। यसपालि भाउ घटेर दुई हजार भयो। कालिजको मूल्य क्रमिक रूपमा घट्दै गएको उनी बताउँछन्।

कालिजका पारखीहरू फार्ममै आएर किन्छन्। कतिपयले अनलाइन भुक्तानी गर्छन् र कालिज पठाइदिन आग्रह गर्छन्। उनले ढुवानीको व्यवस्था पनि गरेका छन्। उनका अनुसार तराईको भन्दा चिसो हावापानीमा हुर्केको कालिज स्वादिलो हुन्छ।स्वादिलो हुने भएकैले प्रतिष्ठित उद्योगी–व्यवसायीहरू समेत कालिज किन्न यहीँ आउँछन्,’ उनले भने।

कालिज पाल्न आफ्नै सात रोपनी पाखो बारी प्रयोग गरेका छन्। फार्म विस्तार गरेर चरासँग जीवन बिताउने चाहना रहेको उनले बताए।

उनका अनुसार कालिज पालनमा सजिलो र अप्ठ्यारो दुबै छ। वयस्क कालिजलाई रोग लाग्दैन तर आपसमा जुधेर क्षति हुन्छ। उनीसँग ह्याचिङ मेसिन छैन। त्यसैले कालिजका अन्डा घोराही वा तुलसीपुर लगेर चल्ला निकाल्छन्। बाटो खराब भएका कारण अन्डा फुटेर खेर जाने र ढुवानी खर्च लाग्ने भएकाले आफ्नै ह्याचिङ मेसिन चाहिएको छ। निकट भविष्यमा ल्याउने योजना बनाएका छन्।

एनुराज घरमा श्रीमती केशरी र कान्छा छोरा द्रोणका साथ बस्छन्। जेठा छोरा मदन बेलायतमा पढ्दै छन्। छोरीको बिहे भइसकेको छ। फार्ममा केशरी र द्रोण पनि खट्छन्। पढालेखा द्रोण जागिर खान चाहन्थे। तर एनुराजले नै रोकेका हुन्।

‘छोरा जागिर गर्छु भन्दै थियो, मैले सम्झाएर रोकेँ। अहिले ऊ पनि कालिज फार्ममा रमाएको छ। म खुसी छु,’ उनले भने। तीन दशक शिक्षण पेसामा हुँदा पनि उनी खुसी थिए। बालबालिकासँग रमाउँदै काम गरे। एक घन्टा हिँडेर पुग्नुपर्ने स्कुल जान कहिल्यै दिक्दार मानेनन्।

जनप्रतिनिधि हुँदा पनि उत्तिकै खुस रहे।मैले सामाजिक काम गर्दा एकलौटी र मनोमानी ढंगले कहिल्यै गरिनँ,’ उनले भने, ‘जे काम पनि समाजको राय सल्लाह लिएर मात्रै गरेँ।’

एनुराज बंगलाचुलीमा आधुनिक बाख्रापालन गर्ने पहिलो व्यक्ति पनि हुन्। शिक्षण पेसामा हुँदै बाख्रापालन थालेका थिए। उनले साढे पाँच सय वटासम्म बाख्रा पाले।एकै वर्षमा ४० लाख रूपैयाँको पाठापाठी बेचेँ। मेरो बाख्रा फार्मले राष्ट्रिय पुरस्कार पनि पायो,’ उनले भने।

एनुराज ठूलो संयुक्त परिवारका सदस्य थिए। बाख्रापालनमा परिवारका सबैले सघाए। व्यवसायको लाभ सिंगो परिवारलाई भयो। अंशबन्डामा बाख्रा फार्म भाइ दलबहादुरको भागमा परेको उनले बताए।

उनले अहिले पनि सय वटा जति लोकल कुखुरा र बोयर जातका केही बाख्रा पालेका छन्। करेसाबारीमा मौसमअनुसारको तरकारी लगाएका छन्।

‘आफैंले उत्पादन गरेको अर्गानिक तरकारी तथा फलफूल खान करेसाबारी बनाएको छु,’ उनले भने।

कालिज पालनमा हालसम्म १६ लाख रूपैयाँ खर्च भएको उनले बताए। यो लगानी उठाउन बाँकी नै छ। चिसो मौसममा कालिजको माग बढी हुने यसैपालि लगानी उठ्ने उनको अपेक्षा छ। आफूले धन कमाउने उद्देश्यले भन्दा पनि आत्मसन्तुष्टिका लागि कालिज पालेको उनले बताए।

‘म फार्मभित्र पस्नासाथ यी कालिजहरू स्वागत गर्न आइपुग्छन्,’ उनी भन्छन्, ‘यी पन्छी निकै प्यारा छन्। यिनका प्वाँख मुसार्न पाउँदा आनन्द लाग्छ।’

आफूले पालेका कालिज आफैंले नखाएको उनले बताए।

उनी युवाहरूलाई कृषि-व्यवसाय लाग्न पनि सुझाव दिन्छन्। आफ्नो ठाउँको प्रकृति अध्ययन गरेर उपयुक्त व्यवसाय रोज्न उनको सुझाव छ।

‘आफू जन्मेहुर्केको ठाउँ छोडेर मैदानमा बसाइँ सर्न हतार नगर्नुस्। विदेशको साटो आफ्नै ठाउँमा परिश्रम गर्नुस्,’ उनको सुझाव छ, ‘केही न केही काम थाल्नुस्, ढिलो चाँडो सफल बन्नुहुन्छ।’

ताजा समाचार