डडेल्धुराको जोगबुडा-दैजी सडक ३७ वर्षसम्म पनि पूरा हुन सकेको छैन्

महेन्द्रनगर ।  कञ्चनपुरलाई डडेल्धुराको भित्री मधेस क्षेत्र जोगबुडा जोड्ने दैजी—जोगबुढा सडक ३७ वर्षसम्ममा पनि पूरा हुन सकेको छैन् । कैलालीदेखि डडेल्धुरा हुँदै डोटी अछाम भएर बाजुरा जोड्न भीमदत्त राजमार्ग डडेल्धुरासम्म निर्माण भइसकेपछि महाकालीको कञ्चनपुरदेखि डडेल्धुरा बैतडी हुंँदै दार्चुला जोड्ने सडकका रूपमा २०४२ सालमा यो सडकको निर्माण सुरु भएको हो । तर दैजी—जोगबुढा सडकमा भने २० बर्षसम्म कुनै काम हुन सकेको छैन।

३८ वर्षअघि उक्त सडक कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढा–रुपाल हुंँदै बैतडीको तल्लोस्वराड जोडिने भने पनि ३७ वर्षसम्म पूरा हुन सकेको छैन् । तराईदेखि सुदूरका पहाडी जिल्ला जोड्ने सबैभन्दा छोटो दुरीको यो सडक अहिलेसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन । ‘दैजीदेखि चुरेपारि जोगबुढासम्म जम्मा ३१ किलोमिटर निर्माण हुन ३८ वर्ष लाग्यो अहिले पनि वर्षातमा गाडी चल्दैनन्।

जोगबुढादेखि रुपाल हुँदै तल्लो स्वराड जोड्न अझै कति समय लाग्ला ? प्रधानमन्त्री शेरबहादुर देउवाले २०४८ को पहिलो आमनिर्वाचनमा कञ्चनपुरको दैजीदेखि जोगबुढा हुँदै डडेल्धुरा सदरमुकाम र बैतडीको तल्लो स्वराड क्षेत्र जोड्न यो सडक अविलम्ब निर्माण गर्ने बताएका थिए । त्यसपछिका हरेक निर्वाचनमा यो सडक प्रधानमन्त्री देउवा र अन्य दलका नेताहरूको चुनावी मुद्दा बन्यो ।

तर सडक भने बन्न सकेन । २०४८ देखि लगातार २०६७ सम्म यो सडकको ट्र्याक खोल्न मात्रै दर्जनौं पटक ठेक्का लाग्यो । कुलपाते सडक डिभिजनका एक जना इन्जिनियर भन्छन्, ‘छोटो दूरीका सडकमध्ये सबैभन्दा बढी बजेट खर्चिएको सडक पनि दैजी—जोगबुढा सडक हो ।’

२०६७ पछि मात्र यो सडकमा जिल्ला विकास समिति, ग्रामीण पुनर्स्थापना कार्यक्रम, नेपाल सरकार र पछिल्लो समय प्रदेश सरकारको गरी बजेटले करोडौं नाघिसक्यो होला । कञ्चनपुरको दैजीदेखि डडेल्धुराको जोगबुढासम्म ३१ किलोमिटर सडकमा यातायातका साधन चल्न सक्ने हुन ३ दशक लाग्यो । यो सडक निर्माणको निहुँमा चुरे क्षेत्रबाट ठूलो मात्रामा वन फँडानी भयो । यो सडकको निर्माण कार्य हेर्ने जिल्ला पूर्वाधार विकास कार्यालय कञ्चनपुरका इन्जिनियरले सडकका विषयमा सबै जानकारी नभए पनि काम भइरहेको बताए।

ताजा समाचार