प्रादेशिक चिकित्सालयबाट पञ्चकर्म उपचार सेवा सुरू

महेन्द्रनगर । धनगढीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पञ्चकर्म–पूर्वकर्म विधिबाट उपचार सेवा सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले कार्तिक २६ गतेबाट पहिलो पटक पञ्चकर्म–पुर्वकर्म विधिबाट बिरामीको उपचार सेवा दिन सुरु गरेको हो।

चिकित्सालयबाट वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार हुन थालेपछि बिरामीले राहत महसुस गरेका छन्। १० महिना अघि पक्षघात भएर नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गर्दा पनि केही सुधार नभएको तर प्रादेशिक आयुर्वेद चिकित्सालयमा आएर उपचार गर्दा तीन हप्तामै धेरै सुधार भएको पक्षघातका बिरामी डम्मर खड्काले बताए।

‘मलाई १० महिना अगाडि पक्षघात भएको थियो। भारतको मेदान्तदेखि काठमाडौंका अस्पतालमा उपचार गराउँदा पनि सुधार हुन सकेको थिएन,’ उनले भने, ‘आयुर्वेद चिकित्सालयमा उपचार गर्न थालेको २१ दिनमै निकै सुधार भएको छ। पहिले उभिन पनि सक्दैन थिए, अहिले मजाले हिड्न सक्ने भएको छु।’

आयुर्वेद चिकित्सालयबाट उपचार सेवा दिन थालेपछि अन्यत्र उपचार गराउँदै आएका बिरामीसमेत यहाँ आउनेक्रम बढेको प्रादेशिक चिकित्सालयका प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। ‘पञ्चकर्म र पूर्वकर्म विधिबाट उपचार सेवा सुरू गरेका छौँ,’ उनले भने, ‘पुरानो वाथ, नसा च्यापिएको, छालाको समस्या, हड्डी खिइएको र हात खुट्टा सुन्निने समस्याको उपचार गराउन दिनहुँ करिव ३० जनाको हाराहारीमा बिरामी आइरहनु भएको छ।’

आयुर्वेद चिकित्सालयमा साउना, सावर, स्नेहन र स्वेदन विधिबाट आयुर्वेदिक मलक र तेलको प्रयोग गरेर उचार गरिने बताइएको छ। अहिले चिकिसत्सालयमा कैलाली र कञ्चनपुरबाट सबैभन्दा बढी बिरामी आउने गरेका छन् भने पहाडी जिल्लाबाट पनि बिरामी आउनेक्रम बढेको चिकित्सालयले जनाएको छ।

पञ्चकर्म, पूर्वकर्म सेवा सुरू भएसँगै बिरामीको ल्याव परीक्षण पनि हुन थालेको छ। बिरामीको संख्या बिस्तारै बढ्दै गएकाले चिकित्सालयमा फिजियोथेरापी र अकुपञ्चर सेवा विस्तार गर्नुपर्ने आवश्यकता देखिएको चिकित्सालयका प्रमुख बमले बताए। प्रादेशिक चिकित्सालयमा फिजियोथेरापी, अक्कुपञ्चर सेवा तुरुन्तै विस्तार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए।

गत असोज ११ देखि प्रादेशिक आयुर्वेद चिकित्सालयले नयाँ भवनबाट उपचार सेवा सुरु गरेको थियो। प्रदेश सरकारबाट ५० शय्या सञ्चालनको स्वीकृति पाएको चिकित्सालयको ओएण्डएम गर्ने काम भइरहेकाले दरबन्दीअनुसार चिकित्सक उपलब्ध भए वैकल्पिक चिकित्साका अन्य विधिबाट पनि उपचार सेवा सुरु गर्ने योजना छ। साथै आगामी माघभित्रै अन्तरङ्ग सेवासमेत सुरु गर्ने योजना रहेको चिकित्सालयले जनाएको छ।

ताजा समाचार