जसले कतै अश्लील भिडियो, कतै बैंकको जागिरे भन्दै करोडौँ ठगे

महेन्द्रनगर। कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीमा स्थानीयबासिन्दाले समातेका पदमराज भट्टलाई पक्राउ गर्न प्रहरीद्वारा ढिलाई भएको छ। विभिन्न परिचय र भेष फेरेर सुदूरपश्चिममा मात्रै करोडौंको ठगी गरिसकेका सशस्त्र प्रहरीका भगौडा पदमराज भट्ट प्रहरीको लापरबाहीले फेरि फरार भएका छन्।

सफा, चिटिक्क भएर सम्पन्न परिवारको जस्तो हाउभाउ देखाएर महँगा गाडी चढेर स्थानीयलाई ठग्दै आएका भट्ट आइतबार फरार भएका हुन्। उनले पछिल्लो समय आफूलाई नेपाल बैंकको प्रबन्धक रुपमा चिनाउदै स्थानीयबाट लाखौँ रुपैया असुलिरहेको खुलेको छ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रमको प्रमुख भनेरसमेत परिचय दिँदै आएका भट्टलाई आइतबार कृष्णपुर नगरपालिका–२ बाणीका स्थानीयले समातेका थिए। तर प्रहरीले सक्रियता नदेखाउदा उनी फरार भएका छन्। दार्चुलाको लेकम गाउँपालिका घर भई धनगढी बस्दै आएका उनी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका रडाहाकी एक महिलाको घरजग्गा बिक्री गराउन लैजाँदै थिए।

कृष्णपुरका सुरेन्द्र बमले शंका लागेर सोधपुछ गर्दा उनको बदनियत खुलेपछि स्थानीयले समातेका थिए।

उनी लुकेको पाँच दिन बितिसक्दा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। भट्टको फोन ट्रेस भइरहेको बताएपनि पक्राउ नगरेको हो।

गत आइतबार दिउँसो कृष्णपुर–२ वंकको एक होटलमा स्थानीयले शंका लागेपछि केरकार गर्दा उनको ठगीको नीयत खुलेको थियो। उनले सेभ द चिल्ड्रेनको अफिसर भएको भन्दै कैलालीको लम्कीका व्यवसायीको स्कारपियो जीप भाडामा लिएका थिए।

१० दिनको अग्रिम भुक्तानी गरेका उनले एक हप्तादेखि कृष्णपुर र शुक्लाफाँटाका केही महिलालाई ठग्ने योजनामा काम गरिरहेका थिए। भट्टसँगै आफूलाई प्रकाश शाह भन्ने किशोर जोशीलाई भने स्थानीयले समातेर इलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाएका छन्।

उनीसँग भेटिएको दार्चुला लेकम गाउँपालिका ठेगानाको नागरिकता र राहदानी पनि स्थानीयले प्रहरीलाई दिएका थिए।संगठित रूपमा ५ वर्षदेखि ठगी गर्दै आएका भट्ट ठगी मुद्दामा दुई वर्ष कैलाली कारागारमा सजाय भुक्तान गरिसकेका छन्।

उनले कारागारबाटै पनि ठगी धन्दा चलाएको एक महिलाले बताइन। ‘एकल महिला, लामो समय देखि श्रीमानबाट टाढा रहेका, क्याम्पस पढ्ने उमेरका केटीहरू सबैभन्दा बढी ठगीको सिकार भएका छन्,’ कैलाली गोदावरीकी ३७ वर्षीया एक महिला भन्छिन्, ‘मलाई जेलबाटै ठग्यो।’

ठगीको सिकार भएका महिलालाई जेलबाटै ब्ल्याकमेल गरेर भट्टले जेलमा कार्यरत प्रहरीको खातामा पैसा मगाउनेसम्म गरेको उनले बताइन। सम्बन्ध बढाएर अश्लील भिडियो बनाउने र ब्ल्याकमेल गर्ने उसको मुख्य धन्दा हो,’ उनले भनिन।

यसरी खातामा पैसा मगाएर सहयोग गर्ने ६ जना प्रहरी त्यतिबेला निलम्बनमा पनि परेका थिए। आफूले अदालतको किर्ते फैसला गराएर पनि बाहिर आउने र अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि पैसा दिने गरेको पीडित महिलाहरू बताउँछन।

भट्टले धेरैलाई त बैंकमा जागिर लगाइदिने प्रलोभनमा पारेर लाखौं ठगी गरेका छन्। उनले संयुक्त राष्ट्र संघीय कार्यक्रमको बिज्ञापन नै खोलेर धेरैलाई ठगेको खुलेको छ।

कैलाली गोदावरीका ४ जनालाई त भट्टले यूएनडीपीको कार्यक्रममा नियुक्तिसमेत दिएका छन्। महिनाको ६५ हजार तलब पाउने गरी ५ लाख दिएर नियुक्ति पाएका गिरीराजले आफू ठगिएको धेरै समयपछि जानकारी पाएको बताए। ‘कार्यालय खोज्दै जाँदा बल्ल ठगिएको थाहा पाएँ,’ उनले भने, ‘कुरा बाहिर ल्याएपछि मार्ने धम्की दिँदै आएको छ।’

आफूसंँगै ठगिएका धेरै जना रहेको उनले बताए। उनले गरेको ठगीका दुई दर्जनभन्दा बढी घटना बाहिर आएका छन्। आइतबार पीडित महिलाले इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएको थाहा पाएपछि अरु पनि पीडितहरू सम्पर्कमा आइरहेको प्रहरीले जनाएको छ।

‘धेरैले इज्जत प्रतिष्ठाका लागि मुख खोल्न सकेका छैनन्,’ एक महिलाले भनिन्, ‘मेरो सम्पर्कमा मात्र ४० जना पीडित महिला छन्। धेरैको त उसले घरजग्गा नै आफैं बिक्री गराएको छ।’

धेरैको घरजग्गा बैंकमा राख्न बाध्य बनाएर लाखौं ठगी गरेको उनले बताइन्। अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिएर भट्टले धेरै युवतीहरूलाई आफ्नो ठगी धन्दामा समेत प्रयोग गर्दै आएको केही पीडितले बताएका छन्।

पछिल्लो पटक उनको सिकार बनेकी हुन्, शुक्लाफांँटा नगरपालिका चम्पापुरकी एक किशोरी। ‘आफू बैंक म्यानेजर भएको र धितोको जग्गा हेर्न आएको भन्दै परिचय गरेको हो,’ ठगिएकी किशोरीकी आमाले भनिन्, ‘हाम्रो नातागोताका विषयमा पत्ता लगाएर आएको रहेछ।’

‘धेरै ठूलो गिरोह नै चलाएर उसले ठगी धन्दा चलाइरहेको खुलेको छ,’ भट्टका बारेमा थाहा पाएर पक्राउ गर्न प्रहरीलाई जानकारी दिएका सुरेन्द्र बमले भने, ‘प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने हो भने यो गिरोहको संलग्नता धेरैजसो आपराधिक घटनामा जोडिन सक्छ।’

उनका अनुसार धेरैजसो ठगीएका महिला घरघडेरी बिक्री गरेर डेरामा पुगेका छन्। आफ्नो रेकर्डमा रहेका कुख्यात ठगका विषयमा जानकार हुँदाहुँदै पनि प्रहरीले पक्राउ गर्ने ढिला गर्दा उसको प्रभावमा केही प्रहरी अधिकारीसमेत रहेको शंका गर्न सकिने बमले बताए।

को हुन् भट्ट?
दार्चुलाको लेकम गाउँपालिकाका बासिन्दा पदमराज भट्ट सशस्त्र प्रहरी बलमा कार्यरत थिए। केही वर्ष जागिर खाएर भगोडा भएका हुन्। उनकी एउटी पत्नी अहिले पनि सशस्त्र प्रहरीमा कार्यरत छिन। भट्टको आपराधिक प्रवृत्तिबारे हल्ला चल्न थालेपछि उनले सम्बन्धविच्छेद गरिसकेको बताउने गरेकी छन्।

तर उनका भाइ किशोर जोशी भने ठगका प्रमुख सहयोगीका रूपमा छन्। जोशी अहिले इलाका प्रहरी कार्यालय झलारीको हिरासतमा छन्। उनीसँग भएको नागरिकताको प्रमाणपत्र र राहदानी नक्कली हुन सक्ने प्रहरीको अनुमान छ।

प्रहरीका अनुसार भट्टले ४ विवाह गरेको खुलेको छ। जेठी श्रीमती सशस्त्र प्रहरीमा छिन। अरु तीन जनामा सबैले ठग भएको थाहा पाउनेबित्तिकै सम्बन्ध विच्छेद गरिसकेका छन्। ‘उसको सम्बन्ध प्रहरीका अधिकारी, अपराधी, अदालतका कर्मचारी र नेतासँग छ,’ भट्टसँग सम्बन्ध विच्छेद भएर अत्तरियामा बसोबास गर्ने एक महिलाले भनिन्, ‘अदालतलाई समेत झुक्याएर नक्कली आदेश पत्र कारागार पठाएर फरार भएको व्यक्ति हो।’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भट्टको खोजी भइरहेकाले छिटै पक्राउ पर्न सक्ने बताए। उनका अनुसार सोमबारसम्म उनको लोकेसन झलारी आसपास नै देखिएको थियो।

‘उसले मोबाइलमा ठाउँपिच्छे नयाँ–नयाँ सिमको प्रयोग गरिरहेकाले लोकेसन ट्रेस गर्न गाह्रो भइरहेको छ,’ उनले भने, ‘हामी खोजीमा जुटेका छौं।’ उनका अनुसार पीडितहरूले इप्रका झलारीमा निवेदन दिएका छन्। भट्ट जिल्ला अदालतबाट ठगी मुद्दामै जेल सजाय पाएर गतवर्ष छुटेका थिए।

ताजा समाचार