कैलाली प्रशासन कार्यालयमा मिटर ब्याजसँग सम्बन्धित मुद्दाको संख्या बढ्दै

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कैलालीमा मिटर ब्याजसँग सम्बन्धित मुद्दाको संख्या बढ्दै गएको छ।

प्रशासन कार्यालय कैलालीलाई मिटर ब्याजसँग सम्बन्धित मुद्दा हेर्ने अधिकार दिएपछि पीडित न्याय माग्दै प्रशासन पुगेका हुन्। प्रशासन कार्यालय कैलालीमा अहिलेसम्म ७२ मुद्दा दर्ता भएका छन्।

दर्ता भएका मुद्दाहरुमध्ये अहिलेसम्म १७ वटा मात्र फछ्र्यौट भएको प्रशासनले जनाएको छ। प्रशासनले मिलापत्र गर्न नसकेका मुद्दाहरुलाई कानूनी कारबाहीका लागि प्रहरीमा पठाउने गरेको छ। प्रहरीले ठगी, जालसाँची लगायतका मुद्दा दर्ता गर्दै अनुसन्धान थालेको छ।

कैलाली प्रशासनमा मिटर ब्याजसँग सम्बन्धित ७२ मुद्दा दर्ता भएको अभिलेख छ। जिल्लाका ग्रामिण तथा धनगढी क्षेत्रमा मिटर ब्याजका कारण ठगिएको भन्दै मुद्दा दिनेको संख्या बढ्दै गएको छ।

घरजग्गा तथा अन्य भौतिक सम्पत्ति मिटर ब्याजका कारण लिलाम तथा कब्जा गरिएको भन्दै पीडितहरु न्याय माग्दै प्रशासन धाइरहेका हुन्। अहिलेसम्म प्रशासनले १७ वटा मुद्दा फछ्र्यौट गरिसकेको छ। कैलालीका प्रमुख जिल्ला अधिकार किरण थापाले मुद्दाको संख्या बढ्दै गएको बताए।

‘मुद्दाको संख्या बढ्दैछ। प्रशासनमा परेका ठगि सम्वन्धिका उजुरीमाथि अनुसन्धान गरिरहेका छौँ। पीडित र पीडकलाई बोलाएरै छलफल गरिरहेका छौँ।

केही मिलेर पनि जानु भएको छ।’आफु ठगिएको गुनासोसहित प्रशासन कार्यालय कैलाली आउनेहरुको संख्या थप हुँदै गएको छ। प्रशासनले दुबै पक्षलाई बोलाएर छलफल गर्दै आएको छ।

कानूनी प्रक्रियामा लैजानुपर्ने मुद्दा मात्र प्रहरीलाई अनुसन्धानका लागि पठाउने गरिएको छ। प्रशासनका अनुसार चार वटा मुद्दा आवश्यक कारबाहीका लागि प्रहरीमा पठाइएको छ।

प्रहरीले मुद्दाको प्रकृति अनुसार दर्ता गरेर अनुसन्धान अघि बढाउने प्रमुख जिल्ला अधिकार थापाले बताए। कञ्चनपुर प्रशासनमा भने मिटर ब्याजसँग सम्वन्धित मुद्दा दर्ता भएका छैनन्। एक घटना मात्र प्रशासनसम्म पुगेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाल अर्यालले बताए।

ताजा समाचार