अत्तरिया र दार्चुलामा दुई जना कारोबारी १२ किलो चरेशसहित पक्राउ

महेन्द्रनगर। कैलाली र दार्चुलाबाट प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध चरेश बरामद गरेको छ।

कैलालीको अत्तरियामा ९ किलो ३४० ग्राम र दार्चुलाको बांगाबगडबाट ३ किलो ८ सय ग्राम चरेशसहित दुई जना कारोबारी पक्राउ परेका हुन्।

गोप्य सूचनाका आधारमा मंगलबार बेलुका सादा पोशाकमा खटिएको संयुक्त प्रहरी टोलीले गोदावरी नगरपालिका–२ अत्तरियाको बसपार्कस्थित एक होटलको कोठाबाट ९ किलो ३४० ग्राम चरेश फेला पारेको हो।

चरेशसहित पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका–७ काँडाका ३६ वर्षीय यमराज दौल्याल रहेका छन्।

बोरामा राखिएको चरेशसहित पक्राउ परेका दौल्याललाई ईलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाछन् ।

यस्तै मंगलबार बेलुका नै दार्चुलाको सदरमुकाम बांगाबगरस्थित महादेब किराना पसलबाट ३ किलो ८ सय ग्राम चरेशसहित बिर सिंह लोथ्याललाई प्रहरीले पक्राउ गरेको छ।

सुराकीको आधारमा प्रहरीले छापा मारेर चरेशसहित पसल सञ्चालक लोथ्याललाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार