आगलागी भएको चार घन्टासम्म पनि उद्धार हुन नसकेर एक जन नेपाली युवाले ज्यान गुमाए

महेन्द्रनगर । थाइल्यान्डको सिमानामा रहेको कम्बोडियाको पोइपेट सहरको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परेर झापा, बिर्तामोडका निराकर पाण्डेले ज्यान गुमाएका छन्।

निराकार थाइल्यान्डबाट घुम्न भनेर कम्बोडिया पुगेका थिए। उनी होटलको १२ औं तल्लामा बसेका थिए। आगलागी भएपछि होटलबाट बाहिर निस्कने खोजे पनि उनी असमर्थ भएका थिए।

आगलागी भएर होटलमा थुनिएका बेला निराकारसँग उनका दाजु निरज पाण्डे र परिवारका सदस्यहरूले ४ घन्टा भिडिओ कलमा कुराकानी गरे।दाजु निरजका अनुसार निराकर दुई महिनाअघि, नोभेम्बर ७ तारिखमा थाइल्यान्ड गएका थिए। त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए।

कान्छा भाइ निराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका थिए।निरजले भने, ‘कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राती ११ बजे म, मेरी श्रीमती र आमा काठमाडौंको सुकेधारामा उसको परिवार बसिरहेको ठाउँमा पुग्यौं।

‘त्यसपछि निराकारसँग लगातार भिडिओ कलमा कुराकानी भएको र आफूहरूले उसलाई उद्धार हुने भन्दै सुरक्षित रहन भनिरहेको निरजले बताए।’भाइको नाबालक छोरा शुभार्जन र श्रीमती शशिकला लोहनी काठमाडौं बस्छन्,’ निरजले भने, ‘हुँदाहुँदै राति १२ बजेदेखि नेपाली समय बिहान ४ बजेर २६ मिनेटसम्म कुरा भयो।

हामीले उसलाई धुवाँ आउँछ भनेर ढोकामा कपडा खाँद्नू, पर्यटकीय क्षेत्र भएकाले चाँडै उद्धार हुन्छ भनिरह्यौं। तर भएन।’निराकारले होटलको १२ औं तलाबाट तलको दृश्य मोबाइलमा देखाएका थिए। भिडिओमा हेर्दा तल एम्बुलेन्स देखिन्थ्यो। प्रहरी र सर्वसाधारणको भीड थियो। तर दमकलले तीन तलाभन्दा माथिको आगोमा पानी हाल्न नसकेको निरजले बताए।’उद्धार टोली पर्खिँदा पर्खिँदै पूरै भवनमा आगो लाग्यो,’ निरजले भने।

आगलागी भएको चार घन्टासम्म पनि निराकारको उद्धार हुन नसकेकामा निरज दुखी छन्। उनका अनुसार उक्त भवनमा सन् २०१९ मा पनि आगो लागेको थियो। निराजनले आगो लागेपछि नियन्त्रणमा आउला भन्ने सोचेका थिए। त्यसैले आगलागी सुरू भएको डेढ घन्टापछि मात्र परिवारलाई खबर गरेका थिए।

निरज र परिवारले यताबाट कपडाहरू बाँधेर ढोकामा राख्नु भनिरहे। निराकारले ‘सक्दो कोशिस गर्दैछु’ भन्दै उद्धारका निम्ति पर्खिरहे। उद्धार हुने कुनै अवस्था नदेखेपछि भने निराकार निराश भएर भिडिओमा कुराकानी गर्न थाले।निरजले भने, ‘मेरो परिवारलाई सक्दो माया गरिदिनुहोला, हेरिदिनुहोला भन्ने भिडिओको क्लिपहरू पठायो।

मैले उसलाई प्रेरणा दिइरहन कान्छो भाइको बिहेका बेला सबै जना भएको भिडिओको क्लिपहरू पठाएँ। तर त्यो भिडिओ क्लिपको नोटिफिकेसनमा अझै ‘सिन’ भएन।’

ताजा समाचार