अत्तरिया ६ लेन सडकमा दुर्घटना बढ्यो, ६ महिनामा ७ जनाको मृत्यु

महेन्द्रनगर । मोहनापुल–अत्तरिया ६ लेन सडकमा राखिएका जर्सी डिभाइडर मृत्युको कारण बन्न थालेका छन्। निकै व्यस्त रहने प्रदेशकै प्रमुख सडकको दुबैतर्फ सडक विभागले डिभाइडर राख्दा दुर्घटनाको दर बढेको हो।

सडक क्षेत्र साँघुरो हुने गरि राखिएका डिभाइडरमा ठोकिएर साना ठुला सवारी दुर्घटना हुन थालेका छन्। व्यस्त हुने सडकमा डिभाइडर राख्नुको कुनै औचित्य नभएको सर्वसाधारणले बताएका छन्। ६ लेन सडकमा राखिएका डिभाइडरको औचित्य नभएको धनगढीका स्थानीयले बताए।

६ लेन सडकमा डिभाइडर राख्नुको कुनै औचित्य छैन। उनले भने डिभाइडरले दुर्घटना मात्रै बढेको छ।

अनावश्यक रुपमा राखिएका डिभाइडरले सडक प्रयोगमा समस्या ल्याएको अनुभव सवारी चालकले पनि गरेका छन्। कुनैकुनै ठाउँमा छरपष्ट राखिएका डिभाइडरले सडकलाई कुरूपसमेत बनाएको छ भने सवारी चालकलाई सवारी हाँक्न समस्या हुने गरेको छ। डिभाइडर पछाडि सडकमै पार्किङ गरिको हुन्छ भने मोटरसाइकल, रिक्सा र साइकल यात्रीले डराउँदै सडक प्रयोग गर्नुपरेको रिक्सा चालकले बताए।

६ लेन सडकमा राखिएका डिभाइडरले सडक साँघुरो भएको छ, उनले भने, रिक्सा चलाउन पनि डिभाइडरले गर्दा समस्या हुने गरेको छ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार साउनदेखि अहिलेसम्म ६ लेन सडकमा १६ सवारी दुर्घटना भएका छन्। ६ लेनमा सडक दुर्घटनामा परेर चालु आर्थिक वर्षको ६ महिनामा ७ जनाको मृत्यु भइसकेको छ।

यस्तै, १० जना गम्भीर घाइते भएका छन् भने ९ जना सामान्य घाइते भएका हुन्। ६ लेन सडकमा साउनयता ६ चौपाया मरेका छन् भने २ वटा घाइते भएका छन्। डिभाइडरमै ठोक्किएर ५ वटा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते र २ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्यांक छ। ६ लेन सडकमा जर्सी डिभाइडर राख्नुको कुनै औचित्य नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षकले बताए।

६ लेन सडकमा डिभाइडर राख्नुको कुनै औचित्य छैन, उनले भने, सामान्य घाइते हुनुपर्ने मान्छेको पनि जर्सी डिभाइडरमा ठोकिदा ज्यान गइरहेको छ।

सडकमा ट्राफिक चिन्ह र सडक लाइन खिँचेको भए सडक प्रयोग गर्न सहज हुन्थ्यो भने बजेट पनि कम खर्च हुन्थ्यो। सिमेन्टका डिभाइडरको ठाउँमा प्लास्टिकको कोन डिभाइडर पनि राख्न सकिन्थ्यो तर सडक विभागले काठमाडौंमा असफल भएको जर्सी डिभाइडर धनगढीमा राख्नुको कारण भने बुझ्न सकिएको छैन। धनगढी उपमहानगरपालिकाले पनि ६ लेन सडकमा राखिएका डिभाइडर हटाउन सडक विभागलाई आग्रह गर्दै आएको छ।

डिभाइडर हटाउन फाइल विभागमा पेस गरेको महाकाली पुल योजना कार्यालयका प्रमुख इन्जिनियरले बताए।

ताजा समाचार