गौमाता तथा नंदी व्यवस्थापनका लागि जग्गा खोज्न गठित समितिले नगर प्रमुख बोगटीलाई बुझायो प्रतिवेदन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरमा रहेको सामुदायिक चौपाया (छाडा चौपाया)को समस्या समाधानका लागि सम्भावित जग्गा खोज्न गठित समितिले नगरप्रमुख पदम बोगटीलाई प्रतिवेदन बुझाएको छ ।

बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकमा गौमाता तथा नंदी (छाडा चौपाया) व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न गठित समितिका संयोजक वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराले नगरप्रमुख बोगटीलाई प्रतिवेदन बुझाएका हुन् । समितिले नगर क्षेत्रभित्र रहेका विभिन्न ७–८ ठाउँका सार्वजनिक जग्गामा तारबार गरि गौमाता तथा नंदी व्यवस्थापन गर्न सकिने प्रतिवेदनमा उल्लेख गरेको छ ।

केहि दिन पहिले नगरप्रमुख पदम बोगटीेको अध्यक्षतामा बसेको बैठकले गौमाता तथा नंदी व्यवस्थापनका लागि सम्भावित जग्गा खोज्न वडा नं. १३ का वडाध्यक्ष रामचन्द्र बोहराको अध्यक्षतामा वडा नं. १६ का वडाध्यक्ष केशव सिंह विष्ट,१४ का वडाध्यक्ष भोजराज जोशी,७ का वडाध्यक्ष गणेश चन्द, ३ का वडाध्यक्ष गगन सिंह धामी, ९ का वडाध्यक्ष गगन सिंह कार्की, १९ का वडाध्यक्ष जागुराम चौधरी र १८ का वडासदस्य सीता भण्डारी सदस्य र अमिन गंगादत्त जोशी सदस्य सचिव रहने गरि समिति गठन गरिएको थियो । उक्त समितिलाई प्रत्यक ३/४ वडाहरुका चौपाया एक ठाउँमा व्यवस्थापन गर्न सकिने सम्भावित जग्गा खोज्न जिम्मेवारी दिइएको थियो ।

‘अहिले तत्काल पुरै नगरपालिका भरिका सामुदायिक चौपाया एकै ठाउँमा व्यवस्थापन गर्न जग्गा अभाव तथा अन्य कारणले सकिने अवस्था छैन ।’ नगर प्रवक्ता महेन्द्र खड्काले भने ‘त्यसैले प्रत्यक ३/४ वडाका चौपाया एक ठाउँमा व्यवस्थापन हुनेगरि जग्गा खोज्न समिति गठन गरिएको थियो ।’ उनले अगाडी भने ‘उक्त समितिले गौमाता तथा नंदी व्यवस्थापन गर्न सकिने विभिन्न सम्भावित ठाउँ एवम् जग्गाको जानकारी सहितको प्रतिवेदन नगर प्रमुखलाई बुझाएको छ ।’

उनकाअनुसार अब समितिको प्रतिवेदनमा उल्लेखित जग्गाको थप अधययन एवम् विभिन्न निकायसंग छलफल गरि तत्काल चौपाया व्यवस्थापनको काम अगाडी बढ्छ । भीमदत्त नगरपालिकाले चौपाया व्यवस्थापनलाई प्राथमिकतामा राखेर निरन्तर काम गरिरहेको छ ।

यसअघि नगरपालिकाले चौपाया व्यवस्थापनका लागि बेदकोट नगरपालिका, गौ संरक्षण अभियानका अभियान्ता योगी पिताम्बर, सूदूरपश्चिम प्रदेश कृषि तथा सहकारी मन्त्रालयका सचिव, लामो समय देखि चौपाया व्यवस्थापन र घाइते चौपायाको उपचार गर्दै आएको आई केयर यू का अध्यक्ष लगाएतसंग समेत छलफल समेत गरेको थियो ।

गौमाता तथा नंदी व्यवस्थापनकालागि सम्भावित जग्गा खोज्न गठित समितिको प्रतिवेदन

ताजा समाचार