डोटीका युवा फलफूल खेतीमा रमाउँदै

महेन्द्रनगर । डोटीमा पछिल्लो समय कृषि पेसामा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। तीनैमध्येका एक हुन डोटी जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरा नकुरडाका लक्ष्मण देउवा । उनले व्यावसायिक फलफूल खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन । स्नातक तह उत्तीर्ण गरेका उनले विद्यार्थी राजनीतिक अनुभवसँगै अहिले फलफूल खेतीमा जमेका छन।

जिल्लाको जोरायल गाउँपालिका–५ गडसेरामा काफली गन्याप फलफूल तथा तरकारी फार्म दर्ता गरी रु १० लाखको लगानीमा आफ्नौ निजी बाजो जमिनमा झण्डै ५४ रोपनी जमिनमा तीन हजार बोट कागती, अमिलो, सुन्तला केरा रोपेर उनले व्यावसायिक खेती सुरु गरेका छन । कागती खेतीबाट उनले वार्षिकरुपमा रु चार लाख आम्दानी लिने गरेका छन । लगानीको तुलनामा कागती खेतीबाट नाफा बढी हुने उनी बताउन्छन । “खर्च कम, मलजल पनि थोरै भए पुग्ने, महेनत पनि कम लाग्ने, आम्दानी भने राम्रो हुने भएकाले कागतीखेतीतर्फ यहाँका किसान आकर्षित भएका छन्” किसान देउवाले भने।

उनले बर्सेनि रोजगारका लागि भारत तथा खाडीमुलुक जाने गरेकोमा यसलाई राज्यले रोकेर आफ्नै देशमा यस्तै आयआजर्नमूलक काममा लगाउनुपर्ने सुझाव दिए ।लामो समय भरतमा रोजगारी गरे पनि सोचेजस्तो कमाइ नभएकाले स्वदेशमा आई व्यावसायिक कृषि पेसामा लागेको बडीकेदार गाउँपालिका–५ थान्कोटका प्रकाश मल्लले बताउन्छन। भागरथी कृषि तथा पशुपन्छी फार्म दर्ता गरी चार सय कागती र दुई सय सुन्तलाका बिरुवा लगाएको उनले बताए ।

साथै वार्षिकरुपमा रु एक लाख आम्दानी हुने गरेको मल्लले जानकारी दिए । स्थानीय सरकारले कृषि व्यवसायलाई प्रभावकारी बनाउनका लागि अनुदानमा ऋण, सीपमूलक तालिम, कृषि कार्यक्रम दिनुपर्ने उनको भनाइ छ ।डोटी जिल्लामा कागती ८८ हेक्टर, निबुवा दुई सय ८१ हेक्टर, मौसम एक सय ७२ हेक्टर र सुन्तला तीन सय १३ हेक्टर, गरेर जम्मा आठ सय ५४ हेक्टर क्षेत्रफलमा हिउँदे फलफूल खेती विस्तार भएको कृषि ज्ञान केन्द्रका प्रमुखले जानकारी दिए ।

ताजा समाचार