महेन्द्रनगर । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीबीच भेटवार्ता भएको छ ।

सुदूरपश्चिम भ्रमणका अवसरमा भीमदत्त नगरपालिका पुगेका राजदूत थम्पसनलाई नगरपालिकामा नगरप्रमुख बोगटी, उपप्रमुख नीलम लेखक जोशी, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, नगर प्रवक्ता महेन्द्र खड्काले स्वागत गरेका हुन् ।


नगरपालिकाको टोली र राजदूतको टोलीबीच मानव बेचविखन तथा ओसारपोसार नियन्त्रण लगायत विकास निर्माणका विभिन्न विषयमा छलफल भएको नगर प्रवक्ता खड्काले बताए ।
उक्त छलफलमा माईती नेपाल, होटेल व्यवसायी संघ कञ्चनपुर लगाएतका संघसंस्थाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो । उक्त भेटघाटमा राजदुत थम्पसनले नगरपालिको स्वागतले धेरै खुशी लागेको बताउदैँ मानव बेचविखन विरुद्ध सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए ।

‘यो स्वागतले म धेरै नै खुशी छु र नगरपालिकालाई धन्यवाद ।’ उनले भने ‘मानव बेचविखन नेपाल, भारत, श्रीलङका लगाएतका देशमा मात्र नभएर हाम्रो देश अमेरीकामा पनि भइरहेको छ । यसको नियन्त्रणका लागी हामी सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’
उनले अगाडी भने ‘अमेरीकाले मानव बेचविखनको नियन्त्रण र मेयरज्यूले अनुरोध गर्नुभएका यहाँका विकासका कुरा र यन्त्र उपकरणमा समेत सहयोग गर्नेछ ।’





























