परराष्ट्रमन्त्री साउदद्वारा राहदानी विभागको अनुगमन: सेवाग्राहीलाई समयमै सेवा सुविधा उपलब्ध गराउन निर्देशन

महेन्द्रनगर । परराष्ट्रमन्त्री एनपी साउदले राहदानी विभागलाई हरेक नागरिकले पाउने सेवा सुविधाहरु समयमै उपलब्ध गराउने निर्देशन दिएका छन् ।
त्रिपुरेश्वरस्थित विभागको आइतबार अनुगमन गर्दै उनले सेवाग्राहीलाई सेवा सुविधाहरु समयमै उपलब्ध गराउन महानिर्देशक सुरेन्द्र यादवलाई निर्देशन दिएक हुन् ।
‘मैले सबै नागरिकहरुले आफ्नो अधिकारबमोजिम पाउने सेवा सुविधाहरु उचित किसिमले समयमा उपलब्ध गराउनु पर्छ भनेर भनेको छु,’ विभागको अनुमगनपछि मन्त्री साउदले भने, ‘यसमा केही कमिकमजोरी भएको छ भने पनि त्यसलाई हटाउनका लागि म फेरि समीक्षा गरेर निर्देशन दिन्छु ।’
उनले अनुगमनका क्रममा सेवाग्रहीले राहदानी बनाउँदा ढिलासुस्ती हुने गरेको आफूलाई गुनासो गरेको पनि बताए ।
‘मैले केही सेवाग्राहीहरुलाई सोधेँ, अलिकति ढिलाई छ भन्ने सिकायत गरेका छन् । अलि स्पेस कम भयो भन्ने कुरा पनि आएको छ,’ साउदले भने, ‘विशेष गरेर सेवाग्राहीलाई ओपन स्पेस छैन, बस्नलाई पनि ठाउँ कम भयो भन्ने कुरा पनि आएको छ। यि सबै कुराको अध्ययन गरेर म हेर्छु ।’
उनले राहदानी विभागमा सेवा लिन आउने सेवाग्रहीहरुले भोग्नु परेको कठिनाईंबारे बुझ्न आफू आएको पनि बताए । मन्त्री साउदले अनुगमनका क्रममा सेवाग्राहीदेखि कर्मचारीसँगसमेत छलफल गरेका थिए ।
‘यो ठाउँका विशेष गरेर उपभोक्ताहरुलाई के कस्तो कठिनाईं छ । गाह्रो परिराखेको छ कि के छ, यहाँ कमर्चारीले कसरी काम गरिराख्नुभएको छ भनेर हेर्न आएको हुँ,’ परराष्ट्रमन्त्री साउदले भने ।
दैनिक हजारौँ सर्वसाधारण राहदानी लिनका लागि लाइन लाग्ने यो कार्यालयको सेवा सुस्त रहेको गुनासो आउने गरेको छ । यसअघि गृहमन्त्री हुँदा रवि लामिछानेले पनि यो कार्यालयको अनुगमन गरेका थिए ।

ताजा समाचार