जनकपुरबाट सुरु भयो कांग्रेस रुपान्तरणको अभियान

काठमाडौँ – नेपाली कांग्रेस रूपान्तरण अभियान आज मधेस प्रदेशको जनकपुरबाट सुरु भएको छ । कांग्रेसको संस्थापन इतर पक्षीय तेस्रो पुस्ताका नेताहरूले थालेको अभियानमा पार्टीभित्र देखिएका कमी कमजोरी, विकृति विसङ्गति अन्त्यलाई मुख्य एजेन्डा बनाइएको छ । कांग्रेस नेता जगदीश्वरनरसिंह केसी को अनुसार अभियानका क्रममा पार्टीमा व्यापक सुधार, परिवर्तन र आमूल रूपान्तरणको लागि सातै प्रदेशमा वृहत् भेला र अन्तरक्रिया गरिने छ । यो अभियानले कांग्रेसलाई बलियो, सशक्त र सुदृढ बनाउनुका साथै पार्टीमा नयाँ आशा,कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने उनले बताए ।
प्रदेश भेलामा केन्द्रीय सदस्य मधु आचार्य, जगदीश्वरनरसिंह केसी,चन्द्रमोहन यादव, लगाएतका नेता तथा कार्यकर्ता भेलामा सहभागी रहेका थिए ।
मधेसबाट शुरु भएको कांग्रेस रुपान्तरण अभियान भेला जेठ १६ मा बागमती प्रदेशको काठमाडौं, जेठ २० मा गण्डकी प्रदेशको पोखरा र जेठ २२ मा लुम्बिनी प्रदेशको दाङ हुनेछ । यस्तै जेठ २४ मा कर्णाली प्रदेशको सुर्खेत, जेठ २६ मा सुदूरपश्चिम प्रदेशको धनगढी र जेठ २९ मा कोशी प्रदेशको इटहरीमा कार्यक्रम हुने जनाइएको छ ।

ताजा समाचार