बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु

महेन्द्रनगर । बैतडीमा पहिरोमा पुरिएर आमा–छोराको मृत्यु भएको छ । गएराती परेको अविरल बर्षाका कारण घरमाथीबाट खसेको पहिरोमा पुरिएर पुर्चौडी नगरपालिका–२ महादेवस्थान भैरु टोलका महेश जाग्रीकी श्रीमती र छोराको मृत्यु भएको वडाध्यक्ष चक्र बहादुर बमले बताए ।

गएराती २ बजेतिर सुतिरहेको अवस्थामा घरमाथीबाट खसेको पहिरोमा परि २५ वर्षिया अञ्जु जाग्री र ५ वर्षिया रिजन जाग्रीको मृत्यु भएको वडाध्यक्ष बमले बताए । यस्तै महेशका भाई गब्बर जाग्री, आमा राईमती जाग्री र आफन्त जस्मा बोहोरा घाइते भएका छन् । हाल घाइतेहरुको उद्धार गरी स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष बमकाअनुसार पहिरोले पुरिएर दुईतले घर पूर्ण रुपमा भत्किएकोे छ, घरमा रहेको सम्पूर्ण लत्ताकपडा, अन्न लगाएतका समाग्री नष्ट भएको छ र ८ वटा बाख्रा, २ भैसी, १ हल गोरु, २ गाई समेत मरेका छन् । घरमा अरु के कती सम्पती थियो ? घरधनी महेश आएपछि मात्रै भन्न सकिने वडाध्यक्ष बमले बताए ।

‘पुर्चौडी हाटबाट लामाचौर जाने नयाँ बाटो भर्खरै खनिएको थियो ।’ वडाध्यक्ष बलमे भने ‘रोड खनेको माटो वर्षाका कारण बगाउँदा पहिरो गएर जाग्रीको घर पुरिएको हो ।’ उनले अगाडी भने ‘जनधनको ठुलो क्षति भएको छ । अहिले प्रहरी, हामी स्थानिय उद्धार कार्यमा जुटेका छौँ ।’

ताजा समाचार