गाई पालेर छोरालाई डाक्टर पढाउँदै एकल महिला

प्रकाशित मिति:

बैतडी । बैतडीको विकट टकौरा गाउँ जहाँ बिहानीको उज्यालोसँगै गोठमा गाईको दाम्लो फुकाउँदै गरेकी एकल महिला कुसुम लेखकको दिनचर्या सुरु हुन्छ । उहाँका हातगोडा र कपडामा गहुँत र गोबर लत्पतिको छ । निधार पसिनाले भिजेको छ, तर आँखामा भने छोरालाई डाक्टर बनाउने सपना छ ।

त्यही गाईको दुध बेचेर आएको पैसाले छोरालाई काठमाडौँमा डाक्टर पढाइरहनुभएको छ । यो कथा दशरथचन्द चन्द नगरपालिका–४, टकौरा गाउँकी एकल महिला कुसुम लेखक र आमाको सपना पूरा गर्ने छोरा नितेश लेखकको हो । नितेश अहिले काठमाडौँको हिमालयन कृषि तथा विज्ञान प्रविधि क्यम्पसमा भेटेरिनरी डाक्टरको दोस्रो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।
कक्षामा टपर भएपछि क्याम्पसले अध्ययन शुल्क समेत मिनाहा गरेको छ । खान बस्नका लागि कुसुमले बैतडीमा छ वटा गाई पालेर दुधबाट आर्थिक जोहो गरी रहनुभएको छ । कुसुमले १७ वर्षअघि विसं। २०६६ सालमा श्रीमान् गुमाउनुभयो । उहाँको जीवनमा यो निकै ठुलो बज्रपात थियो ।

पीडासँगै काँधमा पनि जिम्मेवारी थपियो दुई सन्तान पाल्ने र पढाउने । श्रीमान्‌को वियोग हुने बेला जेठा नितेश भर्खर ८ वर्षका थिए भने सुनिल ४ वर्ष जतिका रहेको कुसुमले बताउनुभयो । श्रीमान्‌को साथ छुटे पनि छोराको भविष्य बनाउने सपनाको डोरीले भने उहाँको हिम्मत टुट्न दिएन । पीडाका ती दिन सम्झिँदै उहाँले भन्नुभयो, “रोएर कति दिन बस्थें रु आँसु पनि सकिए । काखमा दुई कोपिला थिए । छोराहरूलाई पढाउने एक मात्र विकल्प त्यही गोठ थियो । आफन्तसँग सरसापटी, सहयोग र ऋण निकालेर उन्नत जातको गाई किनेर गोठाला पानी बजारमा दुध बेच्न सुरु गरेँ ।”

गाई–बाच्छा सुमसुम्याउँदै उहाँले भन्नुभयो, “१७ वर्षदेखि यही काममा छु । छोराहरूले पनि ध्यान दिएर पढ्दैछन् । जेठो भेटेरिनरी डाक्टर पढ्दै छ । कान्छो सुनिल पनि काठमाडौँमै होटल व्यवस्थापन पढ्दैछ ।”


यसरी भयो सपना साकार
कुसुमको सपनाले तब आकार लियो जब जेठो छोरा नितेशले ३।३५ जिपिए ल्याएर २०७४ सालमा एसईई उत्तीर्ण गर्नुभयो । त्यसलगत्तै नितेशले छात्रवृत्तिमा सेती प्राविधिक शिक्षालय दिपायलबाट आइएसी पढ्ने मौका पाउनुभयो ।

जीवनको नयाँ गोरेटो त्यहीबाट सुरु भएको नितेशले बताउनुभयो । आमाको भरोसा र दुःखले पशु चिकित्सक बन्ने अठोट गरेको उहाँले बताउनुभयो । नितेशले भन्नुभयो, “मेरो प्रेरणा त्यही बैतडीको गाईको गोठ र आमाको पसिना हो । त्यसको मूल्य चुकाउन र गाउँका कृषकको सेवा गर्न पशु चिकित्सक बन्दैछु । मनले त भन्छ–आमाको लुगामा लागेको गोबरको दाग डाक्टरको सेतो कोटले पुछ्ने छु ।”

नितेशकोे पढाइ सकिन अब करिब चार वर्षजति बाँकी छ । यता आमाको दिनचर्या भकारो सोहोर्ने, घाँस–दाउरा गर्ने, दुध दुहुने र बजारसम्म पुर्‍याउने र छोरालाई पैंसा पठाउनेमै बितेको छ । आफूले पढ्न नपाए पनि छोराको शिक्षामा कुनै कमी हुन नदिने उहाँले बताउनुभयो ।

दुर्गमको गरिबी र एकल महिला हुनुको सामाजिक बाधाले पनि कुसुम र उहाँ छोराको सफलतालाई छेक्न नसकेको उहाँका देवर केश लेखकले बताउनुभयो । भाउजुकै प्रेरणाले २०६७ सालदेखि आफूले पनि कुखुरापालन सुरु गरेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कुसुम भाउजु गाउँका लागि मात्र होइन, देश र समाजकै लागि एउटा प्रेरणाको स्रोत बनेकी छन् । सकेजति हामीले पनि उहाँको सुःख, दुःखमा साथ दिइरहेका छौँ ।” रासस

ताजा समाचार