कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–११ बागफाँटास्थित शुक्रज टोलबाट मंगलबार साँझ उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका–९ मटेना बस्ने २७ वर्षीय महेश ओड र भीमदत्त नगरपालिका–१६ का २४ वर्षीय अनिल डंगोरा रहेका छन्। उनीहरूको साथबाट ४५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने अवैध पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यस क्षेत्रमा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बागफाँटाबाट प्रहरी टोली खटिएको थियो। शंकास्पद रूपमा फेला परेका उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो। पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



