काठमाडौं । पूर्वी पहाडी तथा तराई क्षेत्रमा वर्षा सुरु भएसँगै सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम जारी छ। बुधबार अबेर कोसी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेको छ। पानीको बहाव एक लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको सङ्केतस्वरूप कोसी ब्यारेजमा रातो बत्ती बालिनुका साथै रातो झण्डा फहराइएको छ।
नदीमा पानीको सतह बढेपछि कोसी ब्यारेजका ५६ वटा ढोकामध्ये २१ वटा खोलिएका छन्। तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदी मिसिने सप्तकोसीले वर्षायाममा उग्र रूप लिने गर्दछ। असार, साउन र भदौ महिनामा हुने अत्यधिक वर्षाका कारण नदी आसपासका क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ।



