काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्य तोड्ने निर्णय गरेको छ। केन्द्रमा प्रदेश सरकारको नेतृत्व र साझेदारीको विषयमा कुरा नमिल्दा बुधबारदेखि नै यसको परकम्प प्रदेशहरूमा देखिन थालेको छ।
गठबन्धन भत्किएसँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चार मन्त्रीलाई बर्खास्त गरेका छन् भने एमालेले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यता कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सामूहिक राजीनामा बुझाएका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमालेसँगको सत्ता सहकार्यमा उकुसमुकुस भएपछि अलग हुने निष्कर्षमा पुगेको बताए। विशेषगरी सुदूरपश्चिम र कोशी प्रदेशको बजेट तथा नेतृत्व फेरबदलको विषयलाई लिएर दुई दलबीच असमझदारी बढेको हो।
अब नयाँ सत्ता समीकरणका लागि नेकपा (माओवादी केन्द्र) निर्णायक बनेको छ। कांग्रेस र एमाले दुवै दलले नेकपाको समर्थन पाउन राजनीतिक कसरत सुरु गरेका छन्। कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच यसबारे भेटवार्ता समेत भइसकेको छ। नेकपाका नेता नारायणकाजी श्रेष्ठले भने दुवै दलसँग छलफल भए पनि ठोस निष्कर्षमा नपुगिएको बताए। नेकपा अध्यक्ष दाहाल श्रीलंका भ्रमणबाट फर्केपछि नयाँ राजनीतिक कोर्स अघि बढ्ने नेताहरूको भनाइ छ।



