काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बाढीपहिरो प्रभावितका लागि आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन्। मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्न तयारी गरिरहेका लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन्।
क्यानबाट प्राप्त हुने मेरो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने उनले उल्लेख गरेका छन्। देशमा कठिन परिस्थिति रहेकाले मन नेपालमै रहेको बताउँदै उनले मैदानमा शतप्रतिशत दिने जनाएका छन्। नतिजाभन्दा पनि आफ्नो प्रदर्शनले स्वदेशमा रहेका नेपालीको अनुहारमा खुसी ल्याउन र उत्साह प्रदान गर्न सकोस् भन्ने चाहना रहेको उनले बताएका छन्।
त्यसैगरी लामिछानेले एसीसी प्रिमियर कपभरि नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ र टोलीले प्रहार गर्ने प्रत्येक चौका तथा छक्काबापत पनि १ हजार ५ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्। उक्त सहयोग बाढी प्रभावित बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिने उनले बताएका छन्। तेस्रो संस्करणको एसिसी प्रिमियर कप आजदेखि मलेसियामा सुरु हुँदैछ र नेपालले भोलि बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।





