काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि जित्ने टोलीले नगद एक करोड पचास लाख रुपियाँ प्राप्त गर्ने भएको छ।
अघिल्लो संस्करणको तुलनामा यस पटक विजेता टोलीको पुरस्कार राशि चालिस लाख रुपियाँले वृद्धि गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले असी लाख रुपियाँ, तेस्रो हुने टोलीले चालिस लाख रुपियाँ र चौथो स्थानमा रहने टोलीले तीस लाख रुपियाँ प्राप्त गर्नेछन्। गत दोस्रो संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड दश लाख रुपियाँ प्राप्त गरेको थियो। पुरस्कार राशिमा गरिएको वृद्धिसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ।
एनपिएलको तेस्रो संस्करण आज सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ। यस पटक पनि प्रतियोगितामा आठवटा फ्रेन्चाइज टोलीको सहभागिता रहने क्यानले जनाएको छ।






