काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दुईवटा खेल हुँदै छन्। पहिलो खेलमा काठमाडौँ गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिच प्रतिस्पर्धा हुन लागेको हो।

पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ भने दोस्रो खेल साँझ ५ बजे सञ्चालन हुने तालिका रहेको छ। प्रतियोगितामा चितवन राइनोज अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि अङ्क बाँड्न बाध्य भएको थियो। अर्कोतर्फ, सुदूरपश्चिम रोयल्सले हालसम्म खेलेका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ भने दुई खेलमा हार व्यहोरेको छ।
यसैबिच, सुदूरपश्चिमविरुद्धको प्रतिस्पर्धाका लागि चितवन राइनोजका समर्थकहरू खेल हेर्न चितवनबाट काठमाडौँ प्रस्थान गरेका छन्। चितवन राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार खेलको टिकट खरिद गरेका समर्थकहरूलाई क्लबको खेल हुने दिन निःशुल्क बस सेवाको व्यवस्था गरिएको छ। अग्रिम टिकट लिएर आउने समर्थकहरूलाई ‘पहिलो आउनेलाई पहिलो प्राथमिकता’ (फस्ट कम फस्ट) का आधारमा चितवनदेखि काठमाडौँ लैजाने र खेल समाप्तिपछि पुनः चितवन ल्याउने प्रबन्ध मिलाइएको देवकोटाले जानकारी दिए।







