कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१५ स्थित ज्योति आयल स्टोर नजिक मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बिहीबार साँझ करिब ७ बजे धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको से ४ प ४५८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र. ०२००३ प ८१५५ नम्बरको स्कुटर ठोक्किएका हुन्। दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक धनगढी उपमहानगरपालिका–५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मायामेट्रो अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान २ बजेर २६ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक धनगढी–१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएका छन्। प्रवीण र अञ्जलीको अवस्था मध्यम रहेको छ भने बालिका ममताको अवस्था सामान्य छ। यस्तै, स्कुटरमा पछाडि सवार धनगढी–५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बबिता मल्ल सामान्य घाइते भएका छन्।

घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।






