काठमाडौं । सत्ताको जिम्मेवारी सम्हालेपछि नेतृत्व र मन्त्रीहरूले विदेश भ्रमणलाई प्राथमिकता दिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रैबाट सार्वजनिक रूपमा प्रश्न उठ्न थालेको छ। पार्टीका २० जना नेता तथा सांसद चीन भ्रमणमा गएको र संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा सहभागी हुन पाँच मन्त्री टर्की पुगेको सन्दर्भमा रास्वपाका सांसदहरूले भ्रमणको औचित्य, राज्यकोषबाट हुने खर्च र राजनीतिक नैतिकतामाथि असन्तुष्टि जनाएका हुन्।

सामाजिक सञ्जालमार्फत धारणा राख्दै रास्वपा सांसदहरू गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले विदेश भ्रमणको प्रवृत्ति र त्यसबाट देशले प्राप्त गर्ने उपलब्धिमाथि चासो व्यक्त गरेका छन्। सांसद कार्कीले कोप–३१ मा सहभागी हुन टर्किए पुगेका तथा जाने तयारीमा रहेका नेपाली प्रतिनिधिमण्डलको खर्चको स्रोत सार्वजनिक गर्न माग गरेका छन्। सरकारी खर्चमा जाने वा अन्य स्रोतबाट जाने भन्ने विषय स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून्। गर्नै पर्छ।”
यस्तै, सांसद संग्रौलाले विदेश भ्रमणका नाममा हुने सामूहिक यात्राप्रति आपत्ति जनाउँदै विगतमा अरू दलका नेताहरूले गर्दा गलत ठहरिएको अभ्यास आफ्नै पार्टीका नेताहरूले गर्दा सही नहुने तर्क गरेकी छन्। सम्बन्धित देश वा आयोजकले नै खर्च बेहोर्ने गरी विज्ञ तथा सांसदलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमण स्वाभाविक हुन सक्ने तर राज्यकोषबाट रकम खर्च गरेर विदेश घुम्ने प्रवृत्ति जुनसुकै सरकार र दलका लागि गलत हुने उनको भनाइ छ।

यसैगरी, सांसद तामाङले संसदीय समिति तथा अन्य प्रयोजनका नाममा राज्यको खर्चमा कति पटक विदेश भ्रमण गर्न पाउने र त्यसबाट देशले के उपलब्धि हासिल गरिरहेको छ भन्ने विषय सार्वजनिक हुनुपर्ने माग गरेकी छन्। लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणको प्रतिफल जनताले जान्न पाउनुपर्ने उल्लेख गर्दै उनले भ्रमणको उपलब्धि समुद्री किनारमा फोटो खिच्ने र टिकटक बनाउने काममा मात्रै सीमित भइरहेको त होइन भन्ने प्रश्नसमेत उठाएकी छन्।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) निकट मानिने सांसद पाण्डेले पनि पद र जिम्मेवारी प्राप्त गरेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने राजनीतिक प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “जिम्मेवारी र कुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ। अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी। जय मातृभूमि नेपाल।” आफ्नै पार्टीका सांसदहरूबाट सार्वजनिक रूपमै प्रश्न उठेपछि रास्वपाभित्र मितव्ययिता, सुशासन र खर्चको पारदर्शिताबारे बहस चर्किएको छ।






