परराष्ट्रमन्त्री एनपीद्वारा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता उद्घाटन

प्रकाशित मिति:

कञ्चनपुर, १४ माघ । कञ्चनपुरको महेन्द्रनगरमा  तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको छ । 

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना एव कञ्चनपुर जिल्ला भलिबल संघको व्यवस्थापनमा भीमदत्त नगरपालिकाको महेन्द्रनगरको खुल्ला मञ्चमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता शुरु भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले प्रतियोगिताको औपचारिक उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा मन्त्री साउदले खेल मानव स्वास्थ्यका लागि निकै महत्त्व रहेको भन्दै पछिल्लो समय भलिवल प्रतियोगिताले स्थान नपाइरहेका बेला प्रदेश खेलकुद परिषदले आयोजना गरेको राष्ट्रिय प्रतियोगिताबाट यहाँको खेल बिकासमा महत्वपुर्ण योगदान पुग्ने अपेक्षा लिइएको बताए ।

उनले सुदूरपश्चिमको खेलकुद विकास एव क्रिकेट क्षेत्रको विकासका लागि संघीय सरकारले कैलालीको धनगढीस्थित फाप्ला खेल मैदानलाई बनाउने तयारी भईरहेको बताउँदै खेलाडीहरु र प्रशिक्षकहरुको लागि तालिमको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रम उद्घाटन अघि ६ टिमविच प्रतिस्पर्धा भएको थियो । जसमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टीमको विजयी शुरुवात भएको हो ।

 नेपाली सेनाको त्रिभुवन आर्मीको क्बलले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–०सेटले हराउँदै विजय यात्रा शुरुवात गरेका हुन । 

उद्घाटन कार्यक्रम पछि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको खेलमा दुबै टीमले एक/एक खेल जितेपछि ब्याड लाइटका कारण खेल स्थगित गरिएको हो ।

प्रतियोगितामा सात वटै प्रदेशका ७ र बिभागिय ३ सहित १० टिममा सातै प्रदेशका सात र सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाका टिमविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता माघ २० सम्म सञ्चालन हुने र प्रतियोगितामा प्रथम हुनेलाई चार लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुने टिमलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, खेलका विभिन्न पाँच विधामा उत्कृष्ट खेलाडीलाई प्रतिव्यक्ति ७० हजार रुपैयाँको दरले पुरस्कृत पनि गरिने छ ।अवलोकनका लागि आज पहिलो दिन निःशुल्क र भोलिबाट विद्यार्थी तर्फ २० र साधारण तर्फ ५० रुपैया शुल्क निर्धारण गरिएको छ ।

ताजा समाचार