लेखकको पक्षमा उभिए भट्ट, सरकारसँग न्याय र सुशासनको अपेक्षा

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका सदस्य जगदीश भट्टले पूर्व गृहमन्त्री रमेश लेखक प्रति आफ्नो साथ, सम्मान र विश्वास व्यक्त गरेका छन् । उनले लेखकले देश र कञ्चनपुरका लागि पुर्‍याएको योगदान नजिकबाट देखेको भन्दै वर्तमान अवस्थामा पनि आफ्नो समर्थन लेखकप्रती अझ बलियो रहेको बताएका हुन् ।

भट्टले जेनजी आन्दोलन को सुरुवातमै गृह मन्त्रीको जिम्मेवारी सम्हाल्दा लेखकले पहिलो दिनमै नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिएको प्रसंग उल्लेख गर्दै उक्त कदमलाई उहाँको चरित्र र मूल्यप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा व्याख्या गरेका छन् ।

त्यसैगरी, उनले देश हाल परिवर्तनको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै नयाँ सरकारप्रति आशा र विश्वास समेत व्यक्त गरेका छन् । विशेषगरी बालेन शाह को नेतृत्वमा कानूनको शासन, पारदर्शिता र उत्तरदायित्वतर्फ देखिएको प्रतिबद्धता सकारात्मक रहेको उनले बताएका छन् । भट्टका अनुसार वर्तमान सरकारप्रति नेपाली जनताको उच्च अपेक्षा रहेको छ । उनले नयाँ सोच, ऊर्जा र जनमुखी दृष्टिकोणमार्फत देशलाई सुशासन र विकासतर्फ अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले कानूनमा आधारित शासन सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले सरकार साँच्चिकै कानूनअनुसार अघि बढेमा सत्य र न्याय स्थापित हुने तथा निर्दोषले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

उनले सामाजिक संजाल फेशबुकमा लेखेका छन्

आज यो तस्वीरसँगै म आदरणीय रमेश लेखक दाइप्रति मेरो साथ र सम्मान व्यक्त गर्न चाहन्छु। देश र जिल्लाका लागि उहाँले गर्नुभएको योगदानलाई नजिकबाट देखेको छु। त्यसैले यो कठिन समयमा उहाँप्रति मेरो साथ, विश्वास र सम्मान अझ बलियो छ। Gen Z आन्दोलनको सुरुवातमै गृह मन्त्रीको जिम्मेवारीमा रहँदा, उहाँले पहिलो दिनमै नैतिक जिम्मेवारी स्वीकार गर्दै राजीनामा दिनुभएको थियो जुन उहाँको चरित्र र मूल्यहरूको प्रमाण हो।
नेपाल परिवर्तनको महत्वपूर्ण चरणमा छ। नयाँ सरकार, विशेषगरी बालेन शाहज्यूको नेतृत्वमा, कानूनको शासन र उत्तरदायित्वतर्फ देखिएको प्रतिबद्धता प्रशंसनीय छ। सम्माननीय प्रधानमन्त्री बालेन शाह प्रति आज सम्पूर्ण नेपालीहरूको आशा, विश्वास र सकारात्मक अपेक्षा जोडिएको छ। उहाँको नेतृत्वमा नयाँ सोच, ऊर्जा र जनमुखी दृष्टिकोणको अनुभूति हुँदैछ, जसले देशलाई सुशासन, पारदर्शिता र विकासतर्फ अघि बढाउने विश्वास दिलाएको छ। आज नेपाल मात्र होइन, विश्वले समेत हाम्रो नयाँ सरकारलाई चासोका साथ हेरिरहेको छ।यो अवसरलाई उदाहरणीय नेतृत्वमार्फत सफल बनाउने जिम्मेवारी उहाँमाथि रहेको छ। हामी सबै नेपालीहरू उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै, यो सरकार साँच्चिकै जनताको सरकार बन्नेछ भन्ने आशामा एकजुट छौं। जनताको अपेक्षा स्पष्ट छ ,यो सरकार साँच्चिकै कानूनले चल्ने सरकार बनोस्।
म विश्वास गर्छु यो सरकार यदि साँच्चिकै कानूनमा आधारित छ भने, सत्य र न्याय अवश्य स्थापित हुनेछ, र निर्दोषले न्याय पाउनेछ।

ताजा समाचार