काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्गको उद्घाटन गरेका हुन्।
सुरुङमार्ग तत्कालै सबै सवारीसाधनका लागि भने खुला गरिने छैन। आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइनेछ। करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ पिरियड) सञ्चालन गरी सुरक्षा र ट्राफिक व्यवस्थापनको मूल्यांकन गरेपछि मात्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश दिइने आयोजनाले जनाएको छ।
नेपालको पहिलो सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ब्रेकथ्रु अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा भएको थियो। वर्तमान प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा रहेको सरकारका पालामा यो सुरुङमार्गको औपचारिक उद्घाटन भई सञ्चालनमा आएको हो।




