काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ–तिहारको समयमा वायुसेवा कम्पनीहरूले हवाई टिकटको मूल्य अत्यधिक बढाएको र कालोबजारी गरेको भन्दै संसद्मा कडा आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै सांसद प्रसाईँले चाडपर्वका बेला घर फर्कने सर्वसाधारण यात्रुमाथि एयरलाइन्सहरूले मनोमानी भाडा असुल्ने गरेको आरोप लगाए। उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकार रमिते बनेर बस्न नहुने बताए।
संसद्मा आफ्ना धारणा राख्दै उनले भने, “धनगढीको फ्लाइटको एउटा टिकटको मूल्य १६ अक्टोबरदेखि १६ हजार, झापा भद्रपुरको १२ हजार पुर्याइएको छ। हरेक दसैँ–तिहारमा मनपरी भाडा, मौकामा चौका। एयरलाइन्स कम्पनीलाई चिकेन चिल्ली र यात्रुलाई लौका।”
हवाई टिकटमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि र बिचौलियाको चलखेल तत्काल नियन्त्रण गर्न माग गर्दै सांसद प्रसाईँले नियामक निकाय तथा मन्त्रालयलाई प्रभावकारी अनुगमनमार्फत आम नागरिकलाई राहत दिलाउन आग्रह गरे।




