तासको खालमा प्रहरी पुग्दा भागदौड : एक जनाको मृत्यु, एकको खुट्टा भाँचियो

प्रकाशित मिति:

विराटनगर । विराटनगर महानगरपालिका–६, सरोचियास्थित एक घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार राति करिब साढे ११ बजे स्थानीय लालु पासवानको घरमा तास खेलिरहेका बेला प्रहरीको गस्ती टोली पुगेपछि त्यहाँ भागदौड मच्चिएको थियो। सोही क्रममा पक्राउ परेका विराटनगर–१४ का ५५ वर्षीय बलराम कोइरालाको मङ्गलबार बिहान उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार भागदौडका क्रममा कोइराला सामान्य घाइते भएका थिए। प्राथमिक स्वास्थ्य जाँचपछि अवस्था सामान्य देखिएकाले उनलाई अन्य व्यक्तिहरूसँगै हिरासतमा राखिएको थियो। तर मङ्गलबार बिहान करिब साढे ७ बजे उनी अचेत अवस्थामा भेटिएपछि तत्काल उपचारका लागि कोशी अस्पताल हुँदै नोबेल अस्पताल पुर्‍याइएकोमा चिकित्सकले ११ बजे मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार मृतक कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको पाइएको र मृत्युको वास्तविक कारण भने खुल्न बाँकी छ।

यसैबीच, प्रहरी देखेपछि दुई तला माथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय एम्बुलेन्स चालक चन्दन मुखियाको दाहिने खुट्टा भाँच्चिएको छ। उनको श्री अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनास्थलबाट मृतक कोइराला र घाइते मुखियासहित आठ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने अन्यमा साजन राजवंशी, सत्यनारायण राजवंशी, तोरण यादव, राजेश कामत, गङ्गाराम मण्डल र विष्णु कामत रहेका छन्। उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार