बालेन र मोदीले संयुक्त रूपमा गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रकाशित मिति:
spot_img

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज (सोमबार) संयुक्त रूपमा शिलान्यास गरेका छन् । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले नयाँदिल्लीबाट भर्चुअल प्रविधिमार्फत आयोजनाको शिलान्यास गरेका हुन् ।

नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने उक्त आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपियाँ रहेको छ । पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभिएन) को सहायक कम्पनीमार्फत ‘बुट’ (निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण) ढाँचामा विकास गरिनेछ ।

नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबिच सन् २०२३ जुन १ मा भएको सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क पाउनेछ । साथै, व्यावसायिक उत्पादन सुरु भएको २५ वर्षपछि चालु अवस्थामै आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ ।

निर्माणाधीन ९०० मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाको ‘क्यास्केड’ परियोजनाका रूपमा बन्ने तल्लो अरुणमा अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत विद्युत्गृहमा पुर्‍याई पुनः विद्युत् उत्पादन गरिनेछ । आयोजनाबाट प्रत्यक्ष प्रभावित २६८ परिवारमध्ये हालसम्म २५३ परिवारलाई करिब ९९ करोड ९८ लाख रुपियाँ मुआब्जा वितरण भइसकेको कम्पनीले जनाएको छ ।

spot_img

ताजा समाचार