दार्चुला । नेपालको दार्चुलास्थित महाकाली नगरपालिका–८, असीगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने मोटरेबल पुलको आज (सोमबार) दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यममार्फत पुलको उद्घाटन गर्न लागेका हुन् ।
धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाका अनुसार केन्द्र सरकारको निर्देशनबमोजिम पुल क्षेत्रमा साजसज्जा र भर्चुअल प्रविधिसहित उद्घाटनका सबै तयारी पूरा भइसकेका छन् । भारत सरकारको पूर्ण आर्थिक सहयोगमा भारतीय कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पन्जाबले ३२ करोड ९८ लाख भारतीय रुपियाँ लागतमा ११० मिटर लामो र दुई लेनको उक्त पुल निर्माण गरेको हो । पुलको शिलान्यास २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गरेका थिए ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार पुल सञ्चालनको तयारीसँगै नेपालतर्फ सुरक्षाकर्मी र भन्सार कार्यालयका लागि अस्थायी संरचना निर्माण गरिएको छ । प्रहरी बस्ने संरचना तयार भइसकेको र भन्सारका लागि अस्थायी संरचना निर्माण भइरहेको उनले बताए ।
महाकाली नदीमाथिको यो पुल सञ्चालनमा आएपछि दार्चुला, बैतडी र बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्ला सिधै भारतीय सडक सञ्जालसँग जोडिनेछन् । यसबाट तुइन र झोलुङ्गे पुलको जोखिमपूर्ण यात्रा अन्त्य हुनुका साथै स्थानीय कृषि उपज, जडीबुटीको सीमापार व्यापार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।






