धनगढी । ‘क्रिकेटको सहर’ का रूपमा परिचित धनगढीसहित समग्र सुदूरपश्चिम प्रदेशको दशकौँदेखिको सपना साकार हुने दिशामा अघि बढेको छ । धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदी किनारको बोराडाँडी क्षेत्रमा निर्माण हुने फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको पहिलो चरणको कामका लागि बोलपत्र आह्वान भएसँगै आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।
सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख तुलसीराम खरभुजाका अनुसार करिब साढे ३८ बिघा क्षेत्रफलमा रङ्गशालासहितको खेलग्राम निर्माण गरिनेछ । पहिलो चरणका लागि सरकारले तीन वर्षको अवधि तोकेर २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ, जसमध्ये मूल्यवृद्धि र कर कटौतीपछि करिब १८ करोड रुपियाँ निर्माण कार्यमा खर्च हुनेछ ।
पहिलो चरणमा रङ्गशाला क्षेत्रका रूख हटाएर करिब डेढ मिटर माटो भर्ने, मैदान सम्याउने र दर्शकका लागि मैदानको चारैतर्फ स्लोप निर्माण गरिने प्रमुख खरभुजाले बताए । यस्तै, प्रस्तावित १३ वटा प्यारापिट ब्लकमध्ये पहिलो चरणमा करिब दुई हजार दर्शक क्षमताको एउटा ब्लक निर्माण गरिनेछ ।
अभियानदेखि राष्ट्रिय प्राथमिकतासम्म धनगढीमा २०६६ सालदेखि सुरु भएको एसपीए कप, धनगढी क्रिकेट लिग र धनगढी प्रिमियर लिग (डिपिएल) ले अन्तर्राष्ट्रिय रङ्गशालाको अवधारणा जन्माएको थियो । २०७१ सालमा अस्थायी मैदान पहिचान गरिएको फाप्लालाई अन्तर्राष्ट्रियस्तरको बनाउन २०७२ सालदेखि ‘ड्रिम फाप्ला’ अभियान थालिएको थियो ।
लामो समय जग्गा प्राप्तिको उल्झनमा फसेको यो आयोजनालाई २०७८ माघ २४ गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय प्राथमिकतामा राख्दै विकास समिति गठन गर्ने निर्णय गरेको थियो । २०७९ जेठ २३ गते अभियानका नेतृत्वकर्ता सुवास शाही विकास समितिको अध्यक्ष मनोनीत भएपछि जग्गा प्राप्ति प्रक्रियाले गति लिएको हो ।
सरकारले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा खेल सञ्चालन गर्ने घोषणा गरेकाले आगामी तीन वर्षभित्र फाप्लालाई फ्लडलाइटसहित तयार पार्ने लक्ष्य छ । रङ्गशाला निर्माणले सुदूरपश्चिमको खेलकुद पूर्वाधारसँगै खेल पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।






