धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानले दिएको अधिकार क्षेत्रभित्र रहेर प्रदेशका लागि आवश्यक ऐन तथा कानुन निर्माण गरिएको बताएका छन् । सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले तीन तहका सरकारका ऐन कार्यान्वयनका सन्दर्भमा आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले बाँकी कानुन निर्माणको प्रक्रियासमेत तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए ।
मुख्यमन्त्री भट्टका अनुसार सुदूरपश्चिम प्रदेशमा हालसम्म ६३ वटा ऐन निर्माण भइसकेका छन् । आवश्यक केही ऐन निर्माण हुन बाँकी रहेको उल्लेख गर्दै उनले त्यसका लागि प्रदेश सरकारले गृहकार्य गरिरहेको बताए ।
प्रदेश सरकार स्थानीय तह र सङ्घीय सरकारसँग समन्वय गर्दै अघि बढिरहेको बताउँदै मुख्यमन्त्री भट्टले संविधानले निर्देशित गरेको सहकार्य, समन्वय र सहअस्तित्वको भावनाअनुसार नै कानुन निर्माण तथा कार्यान्वयनलाई प्रभावकारी बनाउने प्रयास भइरहेको स्पष्ट पारे ।






