काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले वर्तमान सरकारले पार्टी सभापति रवि लामिछाने र आफ्नो पछाडि राज्यको सुराकी संयन्त्र परिचालन गरेको दाबी गरेका छन्।
प्राइम टाइम टेलिभिजनसँगको अन्तर्वार्तामा बोल्दै सांसद सिंहले अघिल्ला सरकारहरूको जस्तै अहिलेको सरकारले पनि आफूविरुद्ध बोल्ने नेताहरूको गतिविधिमाथि सुराकी खटाउने काम गरिरहेको आरोप लगाए। राज्यको गुप्तचरी तथा सुराकी संयन्त्र आपराधिक गतिविधि रोकथाममा प्रयोग हुनुपर्नेमा राजनीतिक दलका नेताहरूको घर अगाडि खटाएर दुरुपयोग गरिएको उनको भनाइ थियो।
सिंहले भने, “चाहे अमरेशकुमार सिंह होस्, रवि लामिछाने वा प्रचण्ड, जो सरकारको विरोधमा बोल्छ उसको पछाडि सुराकी लगाइन्छ। मेरो र सभापति लामिछानेको पछाडि सुराकी खटाइएको जानकारी मलाई छ।” आफू राजनीतिज्ञ भएकाले दलका नेताहरूलाई भेट्नु स्वाभाविक भएको उल्लेख गर्दै उनले राज्य संयन्त्रको यस प्रकारको निगरानीले कुनै परिणाम नदिने बताए।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको धरपकडबाट सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई धम्कीपूर्ण सन्देश दिन खोजेको उनको टिप्पणी थियो। सरकारले पक्राउ गर्न सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उनले विगतमा पनि आफू जेल र हिरासत बसेको स्मरण गर्दै जुनसुकै परिस्थितिको सामना गर्न तयार रहेको स्पष्ट पारे। संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू सधैँ अडिग रहने भन्दै उनले कुनै पनि हुकुमी शासनको मतियार नबन्ने दाबीसमेत गरे।




