अयोध्याबाट रेलमा आएका चार सय तीर्थयात्रीलाई जनकपुरधाममा स्वागत

प्रकाशित मिति:
spot_img

काठमाडौं । जनकपुरधाम र अयोध्याबिचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले सञ्चालन भएको अयोध्या–जनकपुरधाम रेलसेवामार्फत आएका करिब चार सय भारतीय तीर्थयात्रीलाई आज (मङ्गलबार) भव्य स्वागत गरिएको छ । नेपाल रेल्वे कम्पनीद्वारा जनकपुरधाम रेल्वे स्टेसनमा आयोजित समारोहमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीर्थयात्रीलाई खादामाला लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार ‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको १७ वटा डब्बासहितको उक्त रेल बिहान ९ः१५ बजे जनकपुरधाम रेल्वे स्टेसन आइपुगेको थियो । स्वागतका क्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

समारोहमा श्रममन्त्री यादवले अयोध्या र जनकपुरधामबिचको सम्बन्ध यातायातमा मात्र सीमित नभई पारिवारिक, सांस्कृतिक र आत्मीय रहेको उल्लेख गरे । विवाहपञ्चमी महोत्सव नजिकिँदै गर्दा सुरु भएको यस रेलसेवाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय होटल, हस्तकला, होमस्टे र साना व्यवसायको विकासमा ठुलो टेवा पुग्ने उनको भनाइ छ । यस्तै, मधेस प्रदेशका मुख्यमन्त्री यादवले रेल सम्पर्क विस्तारले दुई देशबिचको यातायात सहकार्य र आर्थिक विकासलाई गति दिने बताउँदै सीमापार आवागमनका अवरोध हटाउनुपर्नेमा जोड दिए ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास र विश्व हिन्दू परिषद् नेपालका प्रदेश सङ्गठन सचिव जङ्गबहादुर सिंहले भगवान् श्रीराम र माता सीताको वैवाहिक सम्बन्धले जोडिएका दुई धार्मिक नगरीलाई रेलमार्गले जोड्नु ऐतिहासिक उपलब्धि भएको बताए ।

तीर्थयात्रीका लागि जानकी मन्दिरलगायत धार्मिकस्थलमा पूजाआजा तथा दर्शनको व्यवस्था मिलाइएको छ । दर्शनपछि उनीहरूलाई आजै पुनः बिदाइ गरिने कम्पनीले जनाएको छ । नेपाल र भारत सरकारको सहयोगमा आधुनिक ब्रोडगेज रेलमार्ग निर्माण भएपछि सन् २०२२ मा जयनगर–कुर्था र त्यसको एक वर्षपछि भङ्गहा–बिजलपुरासम्म रेलसेवा विस्तार गरिएको थियो ।

spot_img

ताजा समाचार