कञ्चनपुर । कञ्चनपुरमा सरकारी समर्थन मूल्यमा धान खरिद गर्ने प्रक्रिया सुरु नहुँदै स्थगित भएपछि कृषक चिन्तित बनेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, महेन्द्रनगरले यस वर्ष निर्धारण गरिएको कोटा अपुग हुने भन्दै धान खरिद प्रक्रिया रोकेको हो ।
कम्पनीको महेन्द्रनगर शाखाका अनुसार चालु आर्थिक वर्षमा कञ्चनपुरका लागि आठ हजार क्विन्टल धान खरिद गर्ने कोटा तोकिएको थियो । सोही कोटाअनुसार कम्पनीले गत कात्तिक १९ र २० गते तीन सय कृषकलाई धान बिक्रीका लागि कुपन (टोकन) वितरण गरी कात्तिक २७ गतेदेखि खरिद सुरु गर्ने सूचनासमेत जारी गरेको थियो । तर, निर्धारित कोटाले कृषकको धान खरिद गर्न नपुग्ने भएपछि खरिद प्रक्रिया नै स्थगित गरिएको हो ।
शाखा प्रमुख प्रकाश न्यौपानेका अनुसार आठ हजार क्विन्टलको कोटाले नपुग्ने भएपछि थप २० हजार क्विन्टल धान खरिदका लागि सरकारसँग माग गरिएको छ । थप कोटा स्वीकृत भएर आएपछि मात्रै खरिद प्रक्रिया पुनः सुरु गरिने उनले जानकारी दिए ।
थप कोटा कहिले स्वीकृत हुन्छ भन्ने निश्चित नहुँदा कुपन पाइसकेका कृषकसमेत अन्योलमा परेका छन् । सरकारी दरभाउमा धान बिक्री गर्ने आशामा बसेका कृषक उत्पादन घरमै थन्क्याउन बाध्य भएका छन् । वर्षेनी सरकारले थोरै कोटा तोक्दा अधिकांश धान सस्तो मूल्यमा व्यापारीलाई बेच्नुपर्ने बाध्यता झेल्दै आएका कञ्चनपुरका कृषक यस पटक खरिद नै रोकिँदा थप मारमा परेका छन् ।






