काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबिच लामो समयदेखि कायम सीमा विवादका विषयमा छलफल नभएको भारतीय पक्षले जनाएको छ । सोमबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबिचको द्विपक्षीय वार्तामा लिपुलेकको विषय नउठेको स्पष्ट पारेका हुन् ।
भारत र चीनबिच लिपुलेक नाका हुँदै भइरहेको व्यापारिक गतिविधिका विषयमा नेपालले जनाएको आपत्तिबारे पत्रकारले राखेको जिज्ञासामा विदेश सचिव मिस्रीले उक्त विषयमा दुई पक्षबिच कुनै छलफल नभएको बताए । वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिमा भने सीमा स्तम्भको मर्मतसम्भार तथा पुनःस्थापनासम्बन्धी संयुक्त स्थलगत कार्यको प्रगतिप्रति दुवै नेताले सन्तुष्टि व्यक्त गरेको र बाँकी रहेका सीमा समस्या समाधानका लागि दुवै देशका परराष्ट्र सचिवलाई काम गर्न निर्देशन दिइएको उल्लेख छ ।
विज्ञप्तिमा कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तालगायतका विवादित क्षेत्रको नाम किटान गरिएको छैन । उता, परराष्ट्रविद्हरूले उच्च राजनीतिक तहमा ठोस समझदारी नबनाई कर्मचारी तहलाई मात्र जिम्मा दिनुले सीमा समस्या समाधानमा ठोस प्रगति नदेखिएको टिप्पणी गरेका छन् । यद्यपि, दुवै नेताले अपनाएको ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिपत्रमा सीमासहितका सबै बाँकी विषय आपसी छलफल र संवादबाटै समाधान गर्ने सहमति दोहोर्याइएको छ ।
सन् २०१९ मा भारतले एकतर्फी राजनीतिक नक्सा सार्वजनिक गरेपछि सन् २०२० मा नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ प्रशासनिक नक्सा जारी गरेको थियो । काठमाडौँ महानगरपालिकाको प्रमुख रहँदा लिपुलेकको विषयमा कडा धारणा राख्ने गरेका प्रधानमन्त्री शाहले आफ्नै भारत भ्रमणका क्रममा भने उक्त विषयलाई औपचारिक वार्तामा प्रवेश नगराएको देखिएको छ ।






