दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–९ मा रहेको श्री गोकुलेश्वर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ। भारतीय राजदूतावास काठमाडौँका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका प्रमुख विजय सिंह धामीले संयुक्त रूपमा उक्त भवनको शिलान्यास गरेका हुन्। भारत सरकारको करिब ७ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग तथा उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत बन्न लागेको यो भवनको निर्माण तथा कार्यान्वयन शैल्यशिखर नगरपालिकामार्फत हुनेछ। दार्चुला जिल्लामा मात्रै भारत सरकारको सहयोगमा सञ्चालित यो ११औँ परियोजना हो। नयाँ पूर्वाधार निर्माण भएपछि यस क्षेत्रका शिक्षक र विद्यार्थीहरूका लागि पठनपाठन तथा सिकाइको वातावरणमा थप सुधार आउने विश्वास लिइएको छ।




