कैलाली । डाक्टर गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएपछि उनको अनशन स्थगित भएको छ। साउन ७ गतेदेखि धनगढीमा अनशन बसेका केसीसँग शिक्षा सचिव चूडामणि पौडेल नेतृत्वको सरकारी टोलीले सोमबार यो सहमति गरेको हो।
सहमतिपत्रको पहिलो बुँदामा गेटामा तीन सय शय्याको अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढाउने भनिए पनि यसअघि नै सरकारले २०७८ मा निर्णय गर्नुका साथै गत चैतमै ओएण्डएम सर्वेक्षण स्वीकृत गरी दरबन्दीसमेत तय गरिसकेको थियो। त्यस्तै, एमबिबिएसको पाठ्यक्रम र सेल्फ अप्रेपजल फारामको काम अघि बढिसकेको अवस्थामा र चालु आर्थिक वर्षमा दुई अर्ब ५३ करोड बजेट विनियोजन भइसकेको बेला भएको यो सहमतिलाई लिएर विभिन्न प्रश्न उठेका छन्।
सहमतिमा निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने तर सार्वजनिक संस्थाको हकमा बाधा नपर्ने भनिए पनि यो कानुनी मापदण्डभन्दा बाहिर रहेको देखिन्छ। यसैगरी, गैरनाफामूलक बनाउने विषय, सम्पत्ति छानबिन र विगतका सहमतिको अध्ययन गर्ने जस्ता बुँदाहरू पनि यसअघिकै प्रक्रियाको निरन्तरता मात्रै हुन्। पाँच दिनको अनशनपछि भएको यो सहमतिले नयाँ उपलब्धिभन्दा पनि भइरहेकै कामलाई औपचारिकता दिएको टिप्पणी हुन थालेको छ।




