सुनसरी । सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कर्फ्यु) आज पनि जारी छ।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कर्फ्यू हटाइनेछ।
यसैबीच, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ। त्यस क्रममा टोलीले मृतक र घाइतेका परिवारजनसँग पनि कुराकानी गरेको थियो। पीडित पक्षले दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिनको माग गरेको सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काले कप्तानगन्ज क्षेत्रमा शान्ति सुरक्षा स्थिति नियन्त्रणमै रहेको बताए।
यसैबीच, देवानगन्ज गाउँपालिका अध्यक्ष वेचनप्रसाद मेहता र हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले संयमता अपनाउन आग्रह गरेका छन्। अन्सारीले द्वन्द्व, तोडफोड र आगजनीजस्ता क्रियाकलापले कसैको हित नगर्ने भन्दै समाजमा सद्भाव कायम राख्न सबैलाई आह्वान गरे।




