सुरक्षा जोखिम देखाउँदै उन्नत चिनियाँ रोबोट आयातमा अमेरिकाद्वारा रोक

प्रकाशित मिति:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले मंगलबार अमेरिकामा नयाँ ह्युमनोइड रोबोटहरूको आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

प्रशासनका अनुसार यस्ता रोबोटहरूले अमेरिकी राष्ट्रिय सुरक्षामा स्वीकार गर्न नसकिने जोखिम सिर्जना गर्न सक्ने भएकाले यो निर्णय गरिएको हो। यो प्रतिबन्ध ह्युमनोइड रोबोटका साथै चीनमा धेरै उत्पादन हुने चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुनेछ। हाल चीन र अमेरिका रोबोटिक्स तथा एआई क्षेत्रमा अग्रता हासिल गर्ने तीव्र प्रतिस्पर्धामा छन्।

यसैबीच, अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी)ले डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि रोक लगाएको छ। एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यी उपकरणहरूले अमेरिकी अर्थतन्त्र तथा महत्वपूर्ण पूर्वाधारमा सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै महत्वपूर्ण आपूर्ति शृङ्खला सुरक्षित राख्न यो कदम चालिएको बताए।

एफसीसीले ह्युमनोइड रोबोट र पावर इन्भर्टर दुवैलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने आफ्नो ‘कभर्ड लिस्ट’मा समावेश गरेको छ। यस विषयमा हालसम्म चीन सरकारले कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

ताजा समाचार