काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोपछि ६ जना नेपाली पर्वतारोही सम्पर्कविहीन भएका छन्। उनीहरूको खोज तथा उद्धारका लागि पर्यटन विभागले इस्लामाबादस्थित नेपाली दूतावासलाई पाकिस्तान सरकारसँग समन्वय गर्न निर्देशन दिएको छ।
विभागका अनुसार पाकिस्तानका विभिन्न हिमालमा रहेका नेपाली पर्वतारोहण कम्पनीहरूले घटनास्थलतर्फ गएर स्थानीय अधिकारीहरूसँग मिलेर खोज तथा उद्धार अभियानमा सहभागी हुने तयारी गरिरहेका छन्। पर्यटन विभागका प्रवक्ता हिमाल गौतमले पाकिस्तानमा नेपाली शेर्पा र पर्वतारोहण कम्पनीहरूको उल्लेखनीय उपस्थिति रहेको र उनीहरू आपसमा समन्वयमा जुटिरहेको जानकारी दिएका छन्।
प्रवक्ता गौतमले घटनालाई ‘अभूतपूर्व’ भन्दै केही विरोधाभासपूर्ण सूचनाका कारण अझै ‘सानो भए पनि आशा बाँकी रहेको’ बताएका छन्।
ब्रड पिकमा हिमपहिरोपछि नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’सहित १० जना आरोही सम्पर्कविहीन भएका थिए। जसमध्ये चार जनाको शव फेला परे पनि पहिचान हुन बाँकी छ। उद्धार तथा खोजी अभियानका लागि पाकिस्तानी सेनाका हेलिकप्टरसहित स्थल टोलीहरू परिचालन गरिएका छन्।




