सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज गोली काण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न पीडित परिवार र आफन्तले अस्वीकार गरेका छन्। गृहमन्त्री सुधन गुरुङसँग बिहीबार राति औपचारिक सहमति भए पनि स्थानीयको असन्तुष्टि र विरोधपछि परिवारले शव नबुझ्दा अन्त्येष्टि अन्योलमा परेको हो।
सहमतिअनुसार शुक्रबार दिउँसो २ बजे मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि गर्ने तय भएको थियो। तर सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर ज्यान गुमाएका गणेश यादवका परिवारसँग पनि गृहमन्त्रीले सहमति गर्नुपर्ने अडान राख्दै स्थानीयले शव बुझ्न अवरोध गरेका हुन्। हाल दुवै मृतकको शव विराटनगरस्थित न्युरो अस्पतालमा राखिएको छ भने पोस्टमार्टम प्रक्रिया समेत रोकिएको छ।
यसैबिच, देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहताले संकटका बेला स्थानीय तहसँग आवश्यक समन्वय नगरी बैठक र छलफल गरेको भन्दै गृहमन्त्रीप्रति सार्वजनिक असन्तुष्टि व्यक्त गरेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्न देखिएको अवरोध हटाउन र स्थिति सहज बनाउन छलफल भइरहेको जानकारी दिएका छन्।




