पद्मकन्या क्याम्पसको त्रुटि: अनलाइनमा सार्वजनिक भयो विद्यार्थीको प्रवेशपत्र

प्रकाशित मिति:

काठमाडौं । पद्मकन्या बहुमुखी क्याम्पसले स्नातक प्रथम वर्षका १ हजार ३६४ जना विद्यार्थीको व्यक्तिगत विवरणसहितको प्रवेशपत्र (एडमिट कार्ड) सार्वजनिक रूपमा अनलाइनमा राखेपछि विवाद उत्पन्न भएको छ।

क्याम्पसले आफ्नो आधिकारिक फेसबुक पेज र विभिन्न ग्रुपमार्फत ‘क्यूआर कोड’ सार्वजनिक गर्दै बीए, बीबीएस र बीएससी प्रथम वर्षका विद्यार्थीको प्रवेशपत्र डाउनलोड गर्न सूचना जारी गरेको थियो। सो क्यूआर कोड स्क्यान गर्दा नाम, फोटो, ठेगाना र शैक्षिक विवरणसहितका प्रवेशपत्र ड्राइभमार्फत जो-कोहीले हेर्न र डाउनलोड गर्न सक्ने गरी खुला पाइएपछि विद्यार्थीहरूले गोपनीयताको हक र प्रविधि सुरक्षामाथि खेलबाड भएको भन्दै आक्रोश व्यक्त गरेका छन्।

क्याम्पस प्रशासनले भने विद्यार्थीको सहजताका लागि उक्त कदम चालिएको दाबी गरेको छ। क्याम्पस प्रमुख जयालक्ष्मी प्रधानले नियत गलत नभए पनि विद्यार्थीको गोपनीयता र डाटा सुरक्षाबारे गुनासो आएकाले आगामी दिनमा सुरक्षित तरिका अपनाउने प्रतिबद्धता जनाउनुभयो। यता त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले भने यसरी विद्यार्थीको विवरण सार्वजनिक रूपमा राख्नु अनुचित भएको भन्दै क्याम्पससँग सोधपुछ गरिने जनाएको छ।

ताजा समाचार