काठमाडौँ । नेपाल राष्ट्र बैंकले नियम तथा निर्देशन उल्लङ्घन गरेको भन्दै तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको कारबाहीमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक परेका छन्।
राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली’ अनुसार कानुन कार्यान्वयन गर्ने निकाय र राष्ट्र बैंकको अनुरोधबमोजिम समयमै खाता रोक्का नगरेकाले दुवै बैंकलाई अब उप्रान्त समयमै खाता रोक्का र फुकुवा गर्न सचेत गराइएको छ।
त्यस्तै, प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ। कर्जासम्बन्धी निर्देशन पटक–पटक उल्लङ्घन गरेको, अघिल्लो निरीक्षण प्रतिवेदनका कैफियत सुधार नगरेको, कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र कोर बैकिङ सिस्टमभन्दा फरक कर्जा विवरण पेस गरेको पाइएपछि उनलाई जरिवाना गरिएको हो। प्रभु बैंकको सञ्चालक समितिलाई भने सुधारात्मक कदम चाल्न कबुलियतनामा गराइएको राष्ट्र बैंकले जनाएको छ।




